© २०२३
काठमान्डौ, ५ कार्तिक ।
जेन–जी आन्दोलनका क्रममा सरकारी तथा निजी भवनमा भएको आगजनीमा प्रज्वलनशील रसायन प्रयोग भएको भए नभएको पत्ता लगाउन वैज्ञानिक परीक्षण गरिने भएको छ ।
आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक गतिविधि छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले महत्त्वपूर्ण भवनहरूबाट खरानी सङ्कलन गरेर परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई निर्देशन दिएको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
नेपाली सेनाले सङ्कलन गरेको विवरणअनुसार भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा सरकारी कार्यालयसहित करिब सात सय संरचनामा क्षति पुगेको छ । संसद् भवन, सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, मन्त्रीहरूको निवास लगायतका महत्त्वपूर्ण सरकारी कार्यालयमा आगजनी भएको थियो ।
यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू र सरकारी अधिकारीका घरमा पनि आगजनी भएको थियो ।
आगजनीका क्रममा फैलिएको आगोको मुस्लोलाई लिएर रसायन प्रयोग गरिएको वा तालिमप्राप्त जनशक्तिले आगो लगाएको आशङ्का उठाइएको छ । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले पनि विज्ञहरूलाई उद्धृत गर्दै नेपालको प्रदर्शनका क्रममा रसायन प्रयोग भएको हुन सक्ने उल्लेख गरेको थियो ।