कतार, ५ कात्तिक ।
गुल्मी सेवा समाजको प्रतिबद्धता,निस्वार्थ सेवा समाज भन्ने मूल नाराको साथ कतारमा २००३ मा स्थापना भएको सामाजिक संस्था गुल्मी सेवा समाज कतारले कला संस्कृतिको जगेर्ना गर्दै आयोजित “देउसी भैलो” कार्यक्रमको तयारी पूरा गरेको छ । समाजले हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावलीको अवसर पारेर “देउसी भैलो कार्यक्रम २०२५ को आयोजना गरेको हो ।
आगामी शुक्रवार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा प्रवासमा रहेका स्थानीय कलाकारहरूको विशेष प्रस्तुति सगैं देउसी भैलोको साथमा मारुनी नाच,सोरठी नाच लगायत संस्कृति झल्काउने अन्य विविध सांस्कृतिक प्रस्तुति रहने समाजका अध्यक्ष मित्र विवशले बुटवल टुँडेलाई जानकारी दिएका छन् ।
कतारलाई कर्म थलो बनाइरहेका गुल्मेली तथा गैर गुल्मेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भएर भव्य सफल बनाई दिन गुल्मी सेवा समाज कतारले अनुरोध समेत गरेको छ । मध्यान्ह १२ बजे देखि सुचारु हुने कार्य तालिका रहेको कार्यक्रममा बुटवल टुडे राष्ट्रिय दैनिक समेत सञ्चार सहयोगीको रुपमा रहेको छ प्रवेश शुल्क भने निःशुल्क रहेको छ ।