© २०२३
पाल्पा, ५ कात्तिक ।
तानसेन नगरपालिका–१३ स्थित बैकुण्ठे भिरमा बुधबार एक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको जिप रानीमहल सडक खण्डमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) होम प्रकाश चौधरीले जानकारी दिए ।
जिपमा चालकसहित १४ जना सवार थिए । तीमध्ये १२ जना घाइते भएका छन् भने दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये बागलुङको बडिगाड गाउँपालिका–७ की २९ वर्षीया कल्पना विक र नवलपरासी बर्दघाट नगरपालिका–१० की ४६ वर्षीया चन्द्र कुमारी रोकाको अवस्था मध्यम रहेको र उनीहरूलाई हाल मिसन अस्पताल पाल्पामा उपचाररत रहेको प्रहरीले जनाएको छ ।
डीएसपी चौधरीका अनुसार, दुर्घटनामा बडिगाड गाउँपालिका–७ का ३९ वर्षीया चालक चितमान गुरुङ, ४४ वर्षीया केशव गुरुङ, १८ वर्षीया सपना गुरुङ र ११ वर्षीया शिशिर विक सामान्य घाइते भएका छन् ।
त्यस्तै, निसीखोला गाउँपालिका–१ की ७ वर्षीया सृष्टि विक र ४७ वर्षीया दिलबहादुर थापा पनि घाइते भएका छन् ।
पाल्पाको बगनाशकाली गाउँपालिका–८ का ३३ वर्षीया टिका न्यौपाने र १० वर्षीया रिदम न्यौपानेको अवस्था सामान्य रहेको छ ।
त्यसैगरी, नवलपरासी बर्दघाट नगरपालिका–१० की २२ वर्षीया आशा कुमारी रोका र रुपन्देही सैनामैना नगरपालिका–३ की २७ वर्षीया हुमा छन्याल पनि सामान्य घाइते भएका छन् ।
घाइते सबैको मिसन अस्पतालमा उपचार भइरहेको छ भने चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको डीएसपी चौधरीले जानकारी दिए ।