© २०२३
बुटवल, ५ कार्तिक ।
विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड यात्राका लागि क्रमशः सहज बन्दै गएको छ । ११३ किलोमिटर लामो यस खण्डमा दाउन्ने बाहेक अधिकांश स्थानमा यातायात सुचारु र सहज भएको नारायणघाट–बुटवल सडक आयोजनाले जनाएको छ ।
आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार हाल विभिन्न ११ स्थानमा सडक विस्तारका काम तीव्र गतिमा जारी छन् । उनले भने, “दाउन्नेको पूर्वतर्फ करिब दुई किलोमिटर र पश्चिमतर्फ करिब पाँच किलोमिटर क्षेत्र बाहेक सबै ठाउँमा यातायात सहज भइसकेको छ ।”
खनालका अनुसार दाउन्ने खण्डमा पनि धुलो हटाउने, सडक ढलान गर्ने र पुल सञ्चालनको तयारीसहित सर्भिस लेन र कालोपत्रका काम भइरहेका छन् । “यो हिउँदभित्रै सम्पूर्ण खण्डमा यातायात पूर्णरूपमा सहज हुनेछ,” उनले भने, “त्यसपछि राजमार्ग विस्तारका बाँकी संरचनात्मक काममा जुटिनेछ ।”
यस सडकखण्डमा निर्माण हुने २२ साना र १२ ठूला पुलमध्ये अरुणखोला र चोरमाराका दुई ठूला पुल बाहेक सबैको निर्माण सम्पन्न भइसकेको छ । एकतर्फी कालोपत्र सकिएका स्थानमा अर्कोतर्फ कालोपत्र गर्ने र दुवै तर्फ कालोपत्र भइसकेका भागमा डिभाइडर निर्माण तथा सर्भिस लेनको काम भइरहेको खनालले जानकारी दिए ।
सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का व्यवस्थापक इञ्जिनियर राकेश झाले अहिले नारायणघाटदेखि बुटवलसम्म साढे दुई घण्टामा यात्रा गर्न सकिने अवस्था बनेको बताए ।
उनका अनुसार तिहारका कारण कामको गति केही सुस्त भए पनि छठ पर्वपछि विस्तारमा तीव्रता आउनेछ । हाल गैंडाकोट, देवचुली, चोरमारा र दाउन्ने क्षेत्रमा कालोपत्र, डिभाइडर, पुल रेलिङ, फिनिसिङ र सर्भिस लेन निर्माणजस्ता कामहरू भइरहेको उनले बताए ।
गैंडाकोट क्षेत्रमा दुईतर्फी कालोपत्रको अन्तिम चरण चलिरहेको र दाउन्ने पहाडी खण्डमा ढलान, धुलो नियन्त्रण र सडक किनारमा पर्खाल निर्माण भइरहेको उनले जानकारी दिए ।
एसियाली मापदण्डअनुसार चार लेनमा विस्तार भइरहेको यो सडक विस्तार परियोजनाको कुल लागत रु १७ अर्ब रहेको छ । त्यसमध्ये ८५ प्रतिशत रकम एशियाली विकास बैंकले १.५ प्रतिशत ब्याजदरमा ऋण सहयोगस्वरूप उपलब्ध गराएको हो ।
वि.सं. २०७५ माघमा सुरु गरिएको निर्माण कार्य प्रारम्भिक रूपमा २०७९ साउनभित्र सम्पन्न गर्ने योजना थियो । यद्यपि, चार पटक म्याद थपिँदै अहिले अन्तिम म्याद आगामी साउन ८ गतेसम्म कायम गरिएको छ ।
परियोजना पूरा भएपछि नारायणघाटदेखि बुटवलसम्मको ११३ किलोमिटर दूरी ९० मिनेटमै पार गर्न सकिने र यात्रु तथा मालवाहक दुवैका लागि यात्रा सहज, छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ ।