© २०२३
काठमाण्डौ –
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज दोस्रो दिन पनि घटेको छ । मङ्गलवार एकै दिन ६.३ प्रतिशतले घटेको भाउ आज पनि सामान्य घटेको हो । अन्तराष्ट्रिय बजारमा सोमवार एक औंस अर्थात् झन्डै ३२ ग्राम सुनको मूल्य चार हजार तीन सय ८१ अमेरिकी डलरसम्म पुगेको थियो ।
मङ्गलवार ६.३ प्रतिशत घटेर चार हजार ९७ डलरमा झरेको थियो । यो गिरावट सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट रहेको ’द फाइनान्सियल टाइम्स’ ले जनाएको छ । अहिले प्रतिऔस ६७ डलरले घटेर चार हजार ३० डलरमा झरेको छ ।
यो गिरावटलाई अन्तर्राष्ट्रिय विश्लेषकले आवश्यक सुधारका रूपमा व्याख्या गरेका छन् । विश्लेषक निकी शिल्सलले अत्यधिक खरिदका कारण पाउरोटीझैं फुलेर मूल्य वृद्धिको अन्त्यतिर पुगेको सङ्केतका रूपमा मूल्य घटेको बताएका छन् । सुनको भाउ पछिल्लो दुई महिनामै २५ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरको कमजोर अवस्था र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुनमा लगानी गरेका थिए ।
विश्वका केन्द्रीय बैंकहरूले पनि डलरको विकल्पका रूपमा सुन किनेर भण्डार गरेका कारण सुनको भाउ बढेको हो । तर अहिले अमेरिका–चीनबीच व्यापार तनाव घटेको सङ्केतसँगै सुनको भाउ पनि ओरालो लाग्ने सङ्केत देखिएको बीबीसीले जनाएको छ ।
नेपाली बजारमा गएको सोमवार सुनको भाउ प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । हिजो र आज भने तिहार बिदाका कारण सुनको भाउ तोकिएको छैन । अन्तर्राष्ट्रिय बजारको आधारमा मूल्य घट्दा झण्डै १५ हजार रुपैयाँ भन्दा धेरै मूल्य सस्तो हुने देखिन्छ ।