© २०२३
काठमान्डौ, ५ कार्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा लक्षित आगजनी र लुटपाट भएको बताएका छन् ।
बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो जलाइएको घर हेर्न पुगेका ओलीले ठूला–ठूला मूर्तिहरू उठाएर लगिएको देखेर आफू आश्चर्यमा परेको उल्लेख गरे ।
ओलीले धेरै पहिलेदेखि नै आफ्नो घर लक्षित गरेर आगजनी गरिएको दाबी गर्दै यस्तो घटनाले परिवार र सम्पत्तिमा ठूलो क्षति पुगेको बताए ।
यस्तो छ ओलीको भनाइ :
मैले यहाँ धेरै भन्नुपर्ने केही छैन । तस्बिर आफैं बोलिराख्या छ । जसरी छानी छानी व्यक्तिका घरहरू जलाइएको छ । लुटिएको छ । यतिसम्म कि कसरी उठाएर लगे भन्ने आश्चर्य लाग्छ । केही टनका ढुंगाका मुर्तिहरु थियो त्यहाँ । त्यहाँ शिवको मुर्ति थियो, बुद्धको मुर्ति थियो, स्वरसती मुर्ति थियो ।
त्यस्तो खालको सामान समेत चोरी भएको छ भने अरु त मामुली भयो । उनीहरुलाई काम नलाग्ने चिज आगो लगाइएको छ । सबै चिज उठाइएको छ । उनीहरुलाई काम नलाग्ने चिज मात्रै छोडिएको छ । कुनै किमती चिज पनि छोडिएको छैन ।
त्यही भएर यो बहुतै लक्षित गरेर भएको हो । यसअघि पनि पटक–पटक त्यो प्रयास गरिएको थियो । मेरो मात्रै होइन, देशभरी जलाइएको छ । देशभरी कार्यालय जलाइएको छ । एमालेका नेताका खोजी खोजी घर जलाइएको छ ।