© २०२३
काठमान्डौ, ५ कार्तिक ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सरकार पूर्णरूपले दत्तचित्त भएको बताएकी छिन् ।
बुधबार काठमाडौंको बसन्तपुरमा आयोजित नेपाल संवत् विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार जेनजी समुदाय र राजनीतिक दलहरूसँग निरन्तर संवादमार्फत राजनीतिक सहमति र विश्वास निर्माणमा जुटेको जानकारी दिइन् ।
“विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गर्दै आगामी निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन सरकार कुनै कसर बाँकी राख्ने छैन,” प्रधानमन्त्री कार्कीले भनिन्, “राजनीतिक दलहरूसँग हरेक दिन संवाद भइरहेको छ । परिवर्तनका वाहक जेनजी समुदायसँग पनि निरन्तर सम्पर्क र सहकार्य जारी छ ।”
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई प्राथमिकतामा राखिएको भन्दै पनि भ्रष्टाचार र सुशासनका विषयमा सरकार मौन छैन भन्ने स्पष्ट पारिन् । उनका अनुसार, “निर्वाचन प्रमुख कार्यसूचीमा छ भन्नुको अर्थ सुशासनका मुद्दा ओझेलमा पारिएको होइन । संविधानको अधीनमा रही भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका दिशामा ठोस काम भइरहेको छ ।”
उनले लोकतन्त्रलाई सुदृढ पार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने साझा राष्ट्रिय जिम्मेवारी पूरा गर्न सबै पक्षलाई साथ र सहयोग गर्न आग्रह गरिन् ।