© 2026
काठमान्डौ, ५ कार्तिक ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएको समयमा नै सम्पन्न हुनुपर्ने बताएका छन् ।
बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारलाई निर्वाचनको वातावरण निर्माणमा पूर्ण जिम्मेवारीपूर्वक लाग्न आग्रह गरे ।
उनले भने, “निर्वाचन तोकिएको समयमा हुनुपर्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिएर आवश्यक वातावरण बनाउनुपर्छ । हिजो मात्रै दलहरूसँग भएको वार्ताबाट सरकार निर्वाचनतर्फ गम्भीर हुँदै गएको आभास मिलेको छ, तर अझै पनि वातावरण पूर्ण रूपमा तयार भएको छैन ।”
अध्यक्ष प्रचण्डले असाधारण परिस्थितिमा बनेको अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेकाले अब सबै दलहरू निर्वाचनमा केन्द्रित हुनुपर्ने उल्लेख गरे ।
उनका अनुसार, “निर्वाचनमा केन्द्रित हुनुपर्छ भनेर औपचारिक निर्णय गर्ने पहिलो पार्टी माओवादी केन्द्र नै हो ।”
जेनजी आन्दोलनपश्चात् काठमाडौं उपत्यकाबाहिर मधेश प्रदेशमा खुलेर सार्वजनिक सभा आयोजना गर्ने पहिलो दल माओवादी केन्द्र भएको उनले बताए । आज महोत्तरीको रामगोपालपुरमा पार्टीले पार्टी प्रवेश तथा जनसभा कार्यक्रम आयोजना गरेको छ ।
वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै प्रचण्डले भने, “निर्वाचन त हुनैपर्छ, र वाम एकता पनि समाजवादी मोर्चामा रहेका दलबीच क्रमशः अघि बढ्दै जानेछ ।”
उनका अनुसार, आगामी निर्वाचन देशलाई स्थायित्व र सहमतिको दिशातर्फ डोर्याउने अवसर हुनेछ, जसका लागि सबै दलले आफ्नो जिम्मेवारी निभाउन आवश्यक छ ।