© २०२३
काठमान्डौ, ५ कार्तिक ।
तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज देशभर श्रद्धा र भक्तिपूर्वक गाई पूजा गरिएको छ । वैदिक सनातन परम्पराअनुसार गाईलाई देवी लक्ष्मीको प्रतीक र माताको स्वरूप मानिँदै पूजा गर्ने चलन आज पनि यथावत् रहिआएको छ ।
गाईले दिने दूध आमाको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’ भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईको शरीरमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा ग्रहण गरी दूध, गहुँत र गोबरमार्फत मानव शरीरमा शक्ति पुर्याउने वैज्ञानिक आधार समेत रहेको बताइन्छ । त्यसैले गाईलाई राष्ट्रिय जनावरका रूपमा सम्मान गरिएको हो ।
धार्मिक परम्परा अनुसार, आज गाईको पूजा गरी मीठा परिकार अर्पण गर्दा गाईबाट प्राप्त हुने शुद्धता सधैं कायम रहने विश्वास गरिन्छ । नेपालका केही क्षेत्र र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने प्रथा रहे पनि धर्मशास्त्रअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुवातमा पूजा गर्नुपर्ने मान्यता रहेको धर्मशास्त्रविद् प्राध्यापक तोयराज नेपालको भनाइ छ ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा रक्षाबन्धनको डोरो पनि बाँधिएको छ ।
आजको गाई पूजा त्यसै श्रद्धा, शुद्धता र मातृत्वको प्रतीक पर्वका रूपमा देशभर उल्लासपूर्वक मनाइएको छ ।