Butwal Today

दलहरूलाई प्रधानमन्त्री कार्कीको आग्रह : अब जेनजीसँगै बसौँ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ

४ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई जेनजी युवासँग संवादमा बस्न र स्थिति सामान्यीकरण गर्दै तोकिएकै समयमा चुनावतिर अघि बढ्न आग्रह गरेकी छन् ।

दलहरूसँगको संवादमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकार भयरहित वातावरणमा तोकिएकै समयमा चुनाव गराउन कटिबद्ध छ । त्यसका लागि मन्त्रीज्यूहरू, सुरक्षा निकायलगायत हामी सबै अहोरात्र खटिरहेका छौँ। ’

उहाँले संवादमा ढिलाइ हुनुको कारणसमेत स्पष्ट पार्दै हालसम्म सरकार घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, साथै आन्दोलनकारी पक्षका आवाज सुन्ने कार्यमा व्यस्त रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीका अनुसार सुरुवाती चरणमा जेन–जी युवाहरूले दलहरूसँग संवाद गर्ने विषयमा खासै रुचि नदेखाएका थिए । ‘राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ, ’ उनले भनिन्, ‘अब जेन–जी र दलहरू मिलेर बसौँ, जसरी हुन्छ स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। ’

प्रधानमन्त्री कार्कीले चुनाव सफल बनाउन सबै पक्षलाई आ–आफ्नो तर्फबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्दै भनिन्, ‘यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ। ’