© 2026
काठमाडौँ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई एक महिलाले चुम्बन गरेको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि स्पष्टीकरण दिएका छन् ।
उनले ती महिलाले आफूलाई कुनै बन्द कोठामा नभई सार्वजनिक भेटघाट कार्यक्रममा चुम्बन गरेको उल्लेख गर्दै उक्त घटनालाई नकारात्मक दृष्टिले नहेर्न आग्रह गरेका छन् । साथै, आफू त्यतिबेला खुट्टा भाँचिएर अशक्त अवस्थामा रहेकोले यो संवेदनशीलतालाई ध्यानमा राख्न पनि उनले आलोचकहरूलाई सुझाव दिएका छन् ।
‘एउटा फोटो निकै भाइरल बनाएर विरोधी मनोवृत्तिका केही मानिसहरूले अफवाह फैलाउँदै रहेछन् । ती दिदी लठ्ठी टेक्दै आउनुभएको थियो । खुट्टा फ्याक्चर भएर पनि घण्टौँ पर्खनुभएको थियो भन्ने खबर पाएँ । मलाई असहज हुँदाहुँदै पनि उहाँले मेरो गालामा म्वाइँ खानुभयो,’ साम्पाङले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन् ।
‘त्यो कुनै बन्द कोठामा भएको थिएन । त्यहाँ करिब १०० जना अन्य श्रमदाताहरू उपस्थित हुनुहुन्थ्यो । त्यो सार्वजनिक भेटघाट कार्यक्रम थियो । उहाँको अशक्तताको ख्याल राखौँ । त्यो दिदीलाई चेलीको नजरले हेरौँ । उहाँ मेरो ठुली समर्थक भएकोले देख्दा स्नेह प्रकट गर्न खोज्नुभएको रहेछ भन्ने कुरा पनि उहाँले कार्यक्रममै भन्नुभयो,’ उनले थपे ।
साम्पाङले उक्त घटना केही व्यक्तिहरूले गलत अर्थ्याइरहेको भन्दै नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले भने, ‘कालो मनका दूषित सोच भएका मानिसहरूलाई मेरो भन्नु केही छैन ।’