© २०२३
पालिकाको निर्देशन: तिहारलाई नेपाली फूल
बुटवल, ०३ कार्तिक ।
स्थानीय तहले नेपालका फूल व्यवसायीमैत्री बन्ने प्रयास गरिरहेका छन् । अत्यधिक रूपमा तिहारमा खपत हुने फूललाई केन्द्रित गरी उनीहरूले सूचना र निर्देशन दिइरहेका छन् ।
बुटवल उपमहानगरपालिकाले गत असोज २७ गते सूचना जारी गर्दै तिहारको अवसरमा प्लास्टिकजन्य माला प्रयोगमा निरुत्साहित गर्न आग्रह गरेको छ ।
नगर प्रमुख खेलराज पाण्डेयका अनुसार प्लास्टिकजन्य फूल तथा मालाको प्रयोगले वातावरण प्रदूषण हुने, मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएको कारण बुटवल उपमहानगरभित्र प्लास्टिकजन्य फूल र माला प्रयोगमा निरुत्साहित गरिएको हो ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै सोही अनुसार नेपाली फूलको माला प्रयोग गर्न सबैमा अनुरोध गरिएको मेयर पाण्डेको भनाई छ । बुटवल उपमहानगरपालिकाले यो वर्ष मात्रै होइन, अघिल्लो वर्षहरूमा पनि प्लास्टिकजन्य फूल र माला प्रयोगमा रोक लगाउँदै अनुगमन गरी नियन्त्रणमा समेत लिएको थियो ।
अहिले बजार अनुगमन त भएको छैन, तर सहरी क्षेत्रमा प्लास्टिक जन्य माला कमै मात्रामा पाउने गरेका छन् । बुटवल उपमहानगरपालिका कृषि शाखा प्रमुख सन्तोष जिसीका अनुसार स्थानीय रूपमा उत्पादन भएका फूलको व्यापार प्रवर्द्धनका लागि पालिकाले यो क्षेत्रमा पुष्प व्यवसाय गर्ने व्यवसायीलाई बोलाएर छलफल तथा अन्तर्क्रिया समेत गरेको छ ।
बुटवलको ट्राफिक चोक क्षेत्रमा विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि स्वदेशी फूल बिक्री वितरणको लागि स्टल र बिक्री स्थान छुट्टाउँदै आएको छ । ट्राफिक चौक क्षेत्रका निश्चित स्थानमा बुटवल उपमहानगरपालिकाले किसानहरूलाई प्राथमिकता दिँदै स्थान दिँदै आएको हो भने त्यसमा व्यवसायीहरू पनि रहेका छन् ।
यो वर्ष पनि बुटवल उपमहानगरपालिका भित्र रहेका व्यवसायीहरूको लागि निःशुल्क रूपमा स्थान उपलब्ध गराउने गरी छलफल भएको र सोही अनुसार कार्य हुने छन् । जसबाट किसानले आफूले उत्पादन गरेको बस्तु बिक्री वितरण गर्न सहज रूपमा पाउने छन् ।
बुटवल उपमहानगरपालिका सँगै तिलोत्तमा नगरपालिका प्रमुख रामकृण खाँणले पनि विज्ञप्ति जारी गरी स्वदेशी फूल प्रवर्द्धनको लागि सबैमा अनुरोध गरेका छन् ।
गत असोज २८ गते विज्ञप्ति जारी गर्दै उनले पर्यावरण संरक्षणमा योगदान दिने उद्देश्यका साथ प्लास्टिकजन्य माला र सजावटका सामग्री प्रयोग नगर्न आग्रह गरेका हुन । यस्तै नगरभित्र उत्पादन भएका स्वदेशी फूल प्रयोग गरी स्वदेशी किसानलाई प्रोत्साहन गर्न उनले आग्रह गरेका हुन ।
यस्तै नवलपरासीको बर्दघाट नगरपालिकाले पनि स्वदेशी उत्पादनलाई प्रयोगमा जोड दिएको छ । बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले असोज ३० गते विज्ञप्ति जारी गरी तिहार, छठ लगायतका पर्वमा स्थानीय उत्पादनलाई जोड दिन आग्रह गरेका छन् ।
उनले नगर बासीमा स्वदेशी उत्पादनको रूपमा रहेका प्राकृतिक फूल, माला खरिद, बिक्री र प्रयोग गर्नको लागि सबैमा आग्रह गरेका हुन । पाल्पाको तानसेन नगरपालिकाले पनि स्थानीय उत्पादन फूल माला प्रवर्द्धनको लागि सूचना नै प्रकाशन गरेको छ ।
पालिकाका अधिकृत मधुसुन घर्तीका अनुसार माला, फूल स्थानीय स्तरका किसानहरूबाट प्राप्त मात्रामा उपलब्ध हुने भएको हुँदा सोही अनुसार प्रयोग गर्न सबैमा आग्रह गरिएको छ ।
तानसेन नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र प्लास्टिकजन्य फूल मालाले हुने वातावरणीय प्रदूषण तथा मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न आउँदै गरेको जनाएको हो ।
साथै नगरपालिका क्षेत्रभित्र प्लास्टिकजन्य फूल माला बिक्री वितरण नगर्न नगराउन समेत सूचना मार्फत सूचित गरेको छ ।
प्युठानको प्युठान नगरपालिकाले प्लास्टिकजन्य माला प्रयोग गरेमा कारबाही गर्ने गरी सूचना प्रकाशन गरेको छ ।
प्लास्टिकका माला तथा पटकाको आयात, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको सूचना प्रकाशन गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खनाल द्वारा जारी गर्दै स्थानीय कृषकहरूले उत्पादन गरेका फूलहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्युठान नगरपालिका क्षेत्रभित्र यस वर्षको शुभ–दीपावली (तिहार) तथा छठ पर्वको अवसरमा त्यस्ता प्लास्टिकका माला तथा पटाकाको प्रयोग नगर्नुहुन सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गर्दै उक्त प्लास्टिकका माला तथा पटाकाहरूको आयात, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको हो ।
सूचनाको बेवास्ता गरी प्लास्टिकका माला तथा पटाकाहरूको आयात, बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने नगरपालिको जानकारी दिएको हो ।
कुमालेको सीप सरकारी योजनामा परेन
कपिलवस्तु, ०३ कार्तिक ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १० भावपुर (साबिक पटना गाबिस) का ५९ वर्षीय कपिलदेव कोहार वर्षैभर माटोका भाँडाकुँडा बनाउन व्यस्त हुन्छन् ।
पछिल्लो तीन वर्ष यता उनले आफ्नो पुर्खाेली पेसाको रूपमा रहेको माटोको भाडा बनाउने कार्यमा प्रयोग गर्ने चक्र (चकिया) परिवर्तन गरेका छन् । तीन वर्ष अघि सिमेन्टको चक्रलाई बाँसको लौरोले घुमाएर मेहनत साथ माटोका भाडा बनाउने उनी अहिले भने आधुनिक प्रविधिको प्रयोग गरी पुर्खाेली पेसा जोगाउँदै छन् ।
तीन वर्ष अघि सम्म सिमेन्टको चक्रलाई बाँसको लौरोले घुमाएर मेहनतका साथ माटाका भाडाहरू बनाउँदै आएका कपिलदेवले अहिले मोटर जडित विद्युतीय चक्र प्रयोग गरेका छन् ।
उनले भारतको नयाँ दिल्लीबाट १० हजार भारुमा ल्याएको चक्रलाई मोटर प्रयोग गरी चलाउँदा कम मेहनत लाग्ने गरेको बताए । “बिस्तारै बुढ्यौलीले पनि छुन थाल्यो । सिमेन्टको ठुलो चक्र घुमाउन बढी नै मेहनत पर्थ्यो ।
अहिले मोटर भएको मेसिन सहितको चक्र जोडे पछि काम गर्न सहज भएको छ । ” कपिलदेवले भने । वडामै मधेसी समुदायका एक्लो कोहार परिवारका मुली रहेका उनलाई अहिले दसैँ र तिहारका भएर मात्रै नभई वर्ष भरी नै माटोको भाडा बनाउने चटारो हुन्छ ।
सम्पत्तिको नाममा वन क्षेत्रमा जोडिएको सुकुम्वासीमा १ कट्ठा जग्गाको क्षेत्रफलमा बनाएको उनको घर छ । परिवार पाल्नका लागी उनले ४ कट्ठा जग्गा ठेक्कामा लिएर धान र गहुँ खेती पनि गर्दै आएका छन् ।
परिवारमा श्रीमती, ४ छोरा र ३ छोरी हुन । २ छोरी विवाह गरेर आफ्नो घर गएका छन् भने ३ बुहारी छोराहरूको विवाह पछि थपिएका छन् । उनले माटोबाट पाला, भुड्की, घैटो, हण्डी, मटका, कुल्हड, टुटीवाला घैँटो, गमला र रक्सी पार्ने भाडा र सोमा लाग्ने बच्चा बनाउने गरेका छन् ।
उनले बनाएका सामाग्री मध्य सस्तोमा माटोको पाला ५ रुपैयाँमा र महँगोमा रक्सी पार्ने भाडा २ हजार बढीमा बिक्री हुने गरेको छ । पछिल्लो समय रक्सी पार्ने माटोको भाडालाई सिलवटका भाडाले प्रतिस्थापन गर्दा ती माटाका भाडाहरू खासै बिक्दैनन् ।
त्यसैले अहिले उनको सबै भन्दा महँगो बिक्री हुने माटोको भाँडा मध्यको टुटीवाला घैँटो हो । जुन ६ सय रुपैयाँ सम्म बिक्छ । देख्दा सजिलो भए पनि माटोको भाडा बनाउने काम आफैमा कठिन र कलात्मक छ ।
त्यसका लागि पहिले लसिलो चाम्रो माटोको व्यवस्था गर्ने, सो माटोलाई एक दिनभर भिजाउने, राम्ररी भिजेको माटो डल्लो बनाउने, डल्लो पारेको माटोलाई राम्ररी मुछेर तयार गर्ने काम गर्दै दुई दिन लाग्छ ।
सो पश्चात् मात्रै माटोलाई चक्र (चिकिया) मा राखेर खोजेको आकार दिए पछि दाउरा वा भुसमा पोलेर तयार पार्ने गरिन्छ ।
माटोको भाडा बनाउन जुनसुकै माटोले मिल्दैन । त्यसका लागि रेहार जमिनको कालो र पहेँलो रङ्गको लसिलो चाम्रो माटो चाहिन्छ ।
पछिल्लो समय सामुदायिक वन समूह र समितिले कढाइ गर्दा भाडा बनाउने माटो पाउनै समस्या छ । “अहिले भाडा बनाउने माटो पाउनै समस्या छ । माटो पायो भने पकाउने दाउरा व्यवस्था गर्न समस्या छ ।
माटोका भाडा बनाए पछि पनि बजारमा बिक्री हुँदैन ।” कपिलदेव भन्छन् । भारतमा कोहार समुदायका लागी सरकारले नै परम्परागत पेसा संरक्षणका लागि माटो, दाउरा, चक्र उपलब्ध गराउनुका साथै प्रदेश सरकारले नै चिया पिउन माटोको कुल्हड प्रयोग गर्नु पर्ने नीति बनाएकाले त्यहाँका कोहार समुदायलाई काम गर्न सजिलो रहेको उनी बताउँछन् ।
यहाँ भने तिनै तहका सरकारले आफूहरूले परम्परागत र मौलिक पेसा संरक्षणमा काम कुनै सहयोग नपाउने गरेको उनको गुनासो छ । कपिलदेवको अनुभवले समेत स्थानीय, प्रदेश र सङ्घीय सरकारको परम्परागत सिपको संरक्षण र नवप्रद्र्धनका नाममा हुने खर्चले वास्तविक लाभग्राहीका लागि कामै गर्न नसकेको प्रस्ट्याएको छ ।
“सरकारी तहबाट त कुनै सहयोग थिएन, थिएन । गाउँकै स्थानीय समूहले दिएको सिमेन्टको चक्र पनि एक वर्ष टिकेन । अनि आफै पैसाको जोहो गरेर दिल्लीबाट मोटर भएको चक्र मगाए,” उनले थपे ।
पुराना र मौलिक सिप संरक्षणमा सरकार र हालको युवा पुस्ताको चासो नजानु दुःखद भएको कपिलदेवको गुनासो छ । पहिले माटोका भाडा बनाउन पर्याप्त गुइँठा, दाउरा र भुस पाइने भए पनि अहिले पशुपालनमा कमी आएपछि गुइँठा र भुस पाउन समस्या पर्ने गरेको उनी बताउँछन् ।
स्थानीय सरकारले लगाएको हाट बजारका ठेक्काका कारण माटोको भाँडाकुँडा बेच्न जाँदा शुल्क भन्दै १ हजार सम्म उठाए पनि स्थानीय सरकारले आफूहरूका लागि केही नगरेको उनको अनुभव छ ।
कपिललाई पुर्खाेली पेसाको चिन्ता हुँदै गर्दा नेपाल प्रहरीमा कार्यरत उनका साइँला छोरा धर्मराजले भने पुर्खाले अगालेको परम्परागत र मौलिक सिप तथा पेसामा बजारीकरण, प्रविधिमा सहयोग र सिप संरक्षणका कार्यक्रम नहुँदा नयाँ पुस्ताको रुचि घटेको बताए ।
“सरकारी तहले मौलिक सिप संरक्षणको लागी प्रभावकारी कार्यक्रम, तालिम, सामग्री सहयोग र बजारीकरणको सुनिश्चितता हुने नीति तयार पारेमा मात्रै यस्ता मौलिक सिपसँग नयाँ पुस्ता पनि जोडिन खोज्छन्,” धर्मराजले भने ।