© २०२३
गुल्मी, ०३ कार्तिक ।
जिल्लामा पछिल्लो समयमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । जसका कारण उपभोक्ता एवं व्यवसायीहरूमा सचेतना बढ्दै गएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु एवं स्थानीय पालिकाहरूद्वारा मुख्य चाडपर्वको अवसर पारेर गरिएको बजार अनुगमनको क्रममा दुवै पक्ष सचेत रहेको पाइएको हो ।
गाउँ गाउँमा सडक सञ्जालसँगै सवारी साधनहरू पुगेपछि व्यवसायीहरूले आवश्यकताको आधारमा मात्र तुरुन्तै सामानहरू मगाएर बिक्री गर्ने र उपभोक्ताहरूले पनि सामानहरू लैजाँदा म्याद छ कि छैन भनेर हेरेर खरिद गर्ने बानीको विकास भएको छ ।
सोही कारण व्यवसायी वा व्यापारीहरूले पसलमा सामान राख्दा पनि म्याद हेरेर मात्र राख्न थालेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए ।
पालिका र कार्यालयहरूले भर्खरै जिल्लाको मुसिकोट, काली गण्डकी र चन्द्रकोट गाउँपालिका भित्र विभिन्न वडाहरूका एक सय ७२ वटा पसलहरूमा संयुक्त बजार अनुगमन गरेको छ । अनुगमनमा चन्द्रकोट गाउँपालिकामा ७२, मुसिकोट नगरपालिकामा ४८ र काली गण्डकी गाउँपालिकाका ५२ वटा पसलमा अनुगमन गरिएको हो ।
उक्त अनुगमनमा चन्द्रकोटमा १३ हजार, काली गण्डकीमा आठ हजार र मुसिकोटमा पाँच हजार गरी कुल २६ हजार बरावरका म्याद सकिएका अखाद्य वस्तुहरू बरामद गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख राजीव अर्यालले जानकारी दिए । बरामद गरिएका सामग्रीहरू विगत वर्षको तुलनामा कमै मात्रमा रहेको उनले बताएका छन् ।
कतिपय पसलहरूमा व्यवसायी आफैले म्याद सकिएका बस्तुहरू निकालेर अलग्गै ठाउँमा राख्ने र पछि फिर्ता गर्ने गरेको अनुगमनको क्रममा भेटिएको छ । अनुगमनको क्रममा टोलीले खाद्य सामग्री, फलफूल, किराना, मासु पसल, हार्डवेयर, मोबाइल पसल तथा औषधि पसलहरूमा मूल्य सूची, म्याद सकिएका सामान, बिलिङ प्रणाली, राजस्व र दर्ता प्रमाणपत्र जस्ता विषयमा निरीक्षण गरिएको थियो ।
कार्यालय र पालिकाहरूले व्यवसायीहरूलाई तर्साउने नभई पहिलो पटक उनीहरूलाई सचेत गराउने अभियानमा लागेको बताइएको छ । चाडपर्व लगायत अन्य समयमा पनि उपभोक्ता ठगिन नपाउन र बजार मूल्यमा एकरूपता कायम होस भन्ने उद्देश्यले बजार अनुगमनलाई नियमित गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।
अनुगमनको क्रममा केही पसलमा मूल्य सूची टाँस नगरेको, खाद्य तथा मासुजन्य वस्तु र मदिरा एउटै पसलमा राखेर बिक्री गर्ने गरेको, वर्षौँदेखि पसलहरू नवीकरण तथा दर्ता नगरेको भेटिएको पाइएको थियो ।
चाडपर्वका बेला उपभोक्ता ठगिन नपाउन र बजार मूल्यमा एकरूपता कायम होस भन्ने उद्देश्यले जिल्लामा बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । पछिल्लो समयमा स्थानीय पालीका र कार्यालयहरूले बजार अनुगमनलाई थप तीव्रता दिँदै आएका छन् ।