© २०२३
पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिका मस्यामका एक २७ वर्षीय युवा हरेक तिहार आउँदा मनभित्र पोलिने एउटा तीतो याद सम्झन्छन् । नौ वर्षअघि तिहारको उल्लासमा पटका पड्काउने क्रममा उनले आफ्नै दाहिने आँखाको दृष्टि गुमाए । त्यो दिन सम्झँदा अहिले पनि मन भारी हुन्छ । उनी भन्छन्, “मेरो आँख गुम्यो, अब अरू कसैलाई म जस्तो दु:ख नपरोस् ।”
उनी मात्र होइनन् । वगनासकाली गाउँपालिका राम्दीका अर्को एक युवाले पनि पटका पड्काउँदा आफ्नो हात गुमाएका छन् । यी घटनाहरू केवल व्यक्तिगत दु:ख होइनन्, हाम्रो समाजको लापरवाही र आयातित संस्कृतिप्रतिको अन्धानुकरणको परिणाम हुन् ।
पहिला तिहारको रमाइलो देउसी–भैलो र मैनबत्तीको उज्यालोमै सीमित हुन्थ्यो । तर पछिल्ला वर्षहरूमा छिमेकी मुलुकहरूको नक्कल गर्दै विस्फोटक पटका पड्काउने चलन हाम्रा गाउँ–सहरसम्म फैलिएको छ । यसको परिणाम—घाइते, अंगभंग, आगलागी र मानवीय क्षति—हामीले बारम्बार देखिरहेका छौं ।
तानसेनका स्थानीय कृष्णप्रसाद पराजुली भन्छन्, “प्रहरीले सडकमा कहिल्यै पटका बरामद गरेको सुनिँदैन । राज्यका निकाय नै संवेदनशील हुन सकेनन् ।”
पूर्वखोला गाउँपालिकाका ६० वर्षीय रत्नबहादुर बयम्वु चार वर्षअघिको घटना सम्झँदै भन्छन्, “गाउँका बालबालिकाले पटका पड्काउँदा परालको टोकरीमा आगो लाग्यो । कसरी गाउँका पसलमा पटका आइपुग्यो, मलाई अझै थाहा छैन ।”
पहिला तानसेन, बुटवल वा आर्यभञ्ज्याङका केही पसलमै पटका पाइन्थे । तर आज स–साना किराना पसलदेखि फेन्सी स्टोर र पुस्तक पसलसम्म पटका बिक्री हुन्छ । अझ बालबालिकाका कपडाका गोजीमै पटका हालिदिने प्रवृत्ति खतरनाक स्तरमा पुगेको छ ।
कानुनी रूपमा पटका ‘विस्फोटक पदार्थ’ का रूपमा वर्गीकृत छन् । यसको ओसार–पसार, बिक्री–वितरण सबैमा प्रतिबन्ध भए पनि व्यवहारमा प्रशासन र प्रहरीको सक्रियता घोषणामा मात्रै सीमित छ । गत वर्ष रुपन्देहीको तिलौरा नगरपालिका क्षेत्रमा त एक वडाध्यक्षकै पसलबाट धमाधम पटका बिक्री भएको तथ्य सार्वजनिक भएको थियो ।
पूर्व प्रहरी निरीक्षक (नाम नखुलाउने शर्तमा) भन्छन्, “प्रहरीमा इच्छा शक्ति भए नियन्त्रण सम्भव छ । मैले पाल्पामा खटिँदा राजमार्गबाट ठूलो परिमाणमा पटका बरामद गरेको अनुभव छ ।”
पाल्पाको पूर्वी सीमा बकामलाङदेखि पश्चिमको बल्ढेङगढीसम्मका स–साना बजारमा खुलेआम पटका बिक्री भइरहेका छन् । ती पनि किराना, स्टेशनरी वा कपडाका पसलहरूमा । प्रहरीको निगरानी कमजोर हुँदा जोखिम अझ बढेको छ ।
पूर्व जनप्रतिनिधि पूर्णबहादुर खड्का प्रश्न गर्छन्, “भोलि कुनै ठुलो दुर्घटना भयो भने यसको जिम्मेवारी कसले लिने ?”
तिहार उज्यालो र रमाइलोको पर्व हो । तर त्यो रमाइलो कुनैको जीवन अन्धकार नबनोस् । चेतनाको अभावले अरूको गल्ती दोहोर्याउने होइन, त्यसबाट सिक्ने समय आएको छ । विस्फोटक पटका होइन, उज्यालो दीप र मिठासपूर्ण सम्बन्ध नै तिहारको वास्तविक सौन्दर्य हो ।
पाल्पादेखि रुपन्देहीसम्म पटका नियन्त्रणको नारा त छ, तर कार्यान्वयन शून्य छ । राज्यका निकाय, स्थानीय सरकार र अभिभावक सबै मिलेर चेतना फैलाए मात्र यस विस्फोटक संस्कृतिको अन्त्य सम्भव छ । आखिर तिहार उज्यालोको पर्व हो — त्यसलाई विस्फोटले होइन, दीपले उज्यालो बनाऔं ।