© २०२३
हिन्दुहरूको दोस्रो ठुलो पर्व दीपावली अर्थात् तिहार नेपालीहरूको घर आँगनमा प्रवेश गरिसकेको छ । दीपावली परापूर्व कालदेखि नेपालीहरूको महत्त्वपूर्ण चाडका रूपमा स्थापित हुँदै आएको छ ।
यो पर्व हरेक नेपालीहरूले घर–घरमा दीपक जलाएर हर्ष उल्लासले मनाउने गर्दछन् । हरेक मानवको मानवीय मूल्य, मान्यता र चरित्र पतन हुँदै गइरहेको परिवेशमा दीपावलीले समाजमा व्याप्त विकृति अन्त्य गरेर सामाजिक सद्भाव कायम राख्न प्रेरणा दिने गरेको छ ।
हरेक चाडपर्वको पछाडि आफ्नै किसिमको आध्यात्मिक रहस्य लुकेको परिस्थितिमा दीपावलीको रहस्यमयी संस्कृतिलाई आम नेपालीको हितमा प्रयोग गर्नु जरुरी छ । अनि मात्र चाडपर्वको महत्त्व ज्ञ गरिमा अभिवृद्धि हुन सक्छ ।
त्यसका लागि आफू मात्र होइन समाजमा व्याप्त गलत संस्कृतिको अन्त्य गर्दै मौलिक रीतिथितिको जगेर्नामा जोड दिनु जरुरी छ । पौराणिक मान्यता अनुसार तिहारमा मुख्यतः महालक्ष्मीको पूजा आराधना हुने गर्दछ ।
लक्ष्मी पूजाको दिन बिहान गाईलाई पूजा गर्नको लागि घर आँगनमा हरियो गोबरले लिपेर सफा पारिन्छ । लिपेको ठाउँमा चामलको पिठोद्वारा लक्ष्मीको पाइला बनाई आँगन देखि ढुकुटी भण्डारसम्म पुराइन्छ । लक्ष्मी यसै पाइलामा टेक्दै आएर ढुकुटी भण्डारमा गएर विराजमान हुनुहुन्छ भन्ने नेपालीहरूको विश्वास छ ।
विभिन्न प्रकारका दुःख अवरोध हटाई दाजुभाइको समृद्धि र दीर्घायु होस भन्ने कामना दिदी बहिनीले तिहारका अवसरमा गर्छन् । यसका साथै दीपावली मेलमिलाप र सङ्गमको पर्व पनि हो । दीपावलीका अवसरमा दिदी बहिनी र दाजुभाइका अतिरिक्त साथी भाइसँगै बसेर खुसी र रमाइलो गर्ने परम्परा रहेको छ ।
अर्कोतर्फ नेपालको संस्कृति र सभ्यता रक्षामा पनि यो पर्वको महत्त्वपूर्ण भूमिका रहेको छ । देउसी र भैलो खेलेर नेपालको संस्कृति जोगाउने काम भइरहेको छ । पुरानो संस्कृति, परम्परा जोगाउने र त्यसलाई अझै विकसित गर्ने पर्वका रूपमा तिहारको विशेष महत्त्व छ ।
तिहारकै अवसरमा देउसी र भैलोको माध्यमबाट समाजमा विकासको काम भइआएको विदीतै छ । देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट कहीँ बाटो वनेको छ । कहीँ गाउँमा बिजुली पुगेको छ र कहीँ स्वास्थ्य चौकीहरू स्थापना भएका छन् ।
यसरी तिहारका माध्यमबाट गाउँघरमा विकास पनि भएको छ । मित्रताको पर्वका रूपमा लिइने तिहार विकासको सशक्त माध्यम पनि वनेको छ । पछिल्लो समय हरेक धर्ममा विकृति सिर्जना भइरहेको छ । आज धर्मको मानमर्दन भइरहेको छ ।
यो अवस्थामा नेपालीहरूले नै हो– आफ्नो संस्कार र संस्कृतिको रक्षा गर्ने र परम्परा जोगाउने । त्यसका लागि फेरी पनि दीपावलीको महत्वलाई आम मानिससम्म पु¥याउने र चाडपर्वलाई कम खर्चिलो हुने गरी मनाउने गरी वैज्ञानिक परम्परा स्थापित गर्नु जरुरी छ ।
वास्तवमा यी संस्कारहरू हाम्रो दैनिकी पनि वनेको छ । यिनै संस्कृतिका माध्यमबाट मित्रता, सुख, दुःख र आँसु र हाँसो बाँड्ने माध्यम पनि वनेको छ । अझै तिहारलाई मित्रताको एउटा महत्त्वपूर्ण पर्वको रूपमा लिने गरिएकोले यस पर्वको श्रीवृद्धिमा हामी सबैको ध्यान पुग्नु जरुरी छ । तिहार मनाई रहँदा हामीमा खुसी र उमङ्ग छाएको छ ।
तिहार पर्वले हर्ष पनि बढाएको छ । तर यही तिहार पर्व कसैका लागि भने अभिशाप पनि वनेको छ । तिहारमा जुवा तासकै कारण कतिपय घर परिवारको बिचल्ली हुने गरेको छ । पहिले जुवा तासकै कारण कैयौँ घर परिवार जोगी भएको सुन्ने गरिन्थ्यो तर अहिले त्यस्तो छैन तर पनि जुवा तासकै कारण घर परिवार समस्यामा परेको अहिले पनि सुन्ने गरिएको छ ।
पटाका लगायत आतिसबाजीकै कारण कैयौँ बालबालिका गम्भीर घाइते समेत हुने गरेको अवस्था छ । त्यस कारण दीपावलीलाई आफ्नो परम्परा र धर्म संस्कृति संरक्षण गर्ने अवसर र माध्यमका रूपमा मनाउनेतर्फ ध्यान पुगोस् । आफ्नो हैसियत अनुसार पर्व मनाउनु नेपालीको विशेषता हुनुपर्दछ । दीपावली अर्थात् तिहारको शुभकामना ।