© २०२३
काठमाडौँ ।
सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी जोशीका परिवारलाई मानवीय सहायता स्वरूप प्रदेश सरकारले उक्त सहयोग उपलब्ध गराउने जनाएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार, २३ असोज २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार जोशीका परिवारलाई सहयोग प्रदान गरिने भएको हो ।
त्यो बेला सरकारले जोशीसहित हमासको आक्रमणमा ज्यान गुमाएका अन्य विद्यार्थीका परिवारका सदस्यलाई पनि जनही दुई–दुई लाख रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार प्रदेश सरकारले मृतक सात जनाका परिवारलाई सहयोगबापतको चेक हस्तान्तरण गरेको थियो । तर सो समयमा विपिन जोशीको अवस्था अज्ञात रहेको कारण उनका परिवारलाई सहयोग उपलब्ध गराइएको थिएन ।
गत असोज २७ गते इजरायली अधिकारीहरूले विपिनको मृत्यु पुष्टि गरेका थिए ।
सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएस्सी एग्रिकल्चर अध्ययन पूरा गरी “लर्न एन्ड अर्न” कार्यक्रम अन्तर्गत ११ महिनाका लागि इजरायल इन्टर्नसिपमा गएका १० जना नेपाली विद्यार्थीमध्ये विपिन जोशीसहित सबैको हमासको आक्रमणमा ज्यान गएको थियो ।
मुख्यमन्त्री शाहले स्वर्गीय विपिन जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनका परिवारजनप्रति गहिरो संवेदना प्रकट गरेका छन् ।
इजरायलबाट काठमाडौं ल्याइएको विपिनको पार्थिव शरीर नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याउने तयारी गरिएको छ । धनगढीबाट सेनाले नै उनको घरसम्म शव पु-याउने व्यवस्था मिलाइएको छ ।