Butwal Today

प्रधानमन्त्री कार्कीले विपिनलाई सम्झिँदै भनिन् : विपिन प्रत्येक नेपाली आमाको छोरा हुन्

३ कार्तिक २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, ३ कात्तिक ।

प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा उपस्थित भएर उनले विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

सो क्रममा उनले केहीबेर सम्बोधन गर्दै हमासको आक्रमणका बेला विपिनसहित नेपाली युवाहरूले भोग्नुपरेको पीडा र संघर्ष हामीले यहाँबाट कल्पना गर्न पनि नसक्ने बताइन् ।

‘त्यहाँ अपहरणको शिकार हुँदा कति दु:ख खेपे होलान् । कति कष्ट सहे होलान् । के हुँदै थियो होला त्यो युवाको मनमा,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले विपिन जन्म दिने आमा मात्र होइन, सिंगो नेपाली जनताको आमा पनि आज रोएकी छिन् भन्ने भाव व्यक्त गरिन् ।

उनका अनुसार, विदेशमा मेहनत गरेर देशको अर्थतन्त्रमा योगदान दिने नेपाली युवाहरूको जीवन सुरक्षा सुनिश्चित गर्नु सरकारले पहिलो प्राथमिकताका रूपमा लिनुपर्ने जिम्मेवारी हो ।

श्रद्धाञ्जली सभामा मन्त्रीहरू, विपिनका परिवारजन, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षा निकायका अधिकारीहरू तथा सर्वसाधारणको उपस्थिती थियो ।

विपिन जोशी इजरायलमा हमासको आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीमध्ये एक हुन् । उनको पार्थिव शरीर ३ कात्तिक बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।