© २०२३
काठमाडौं, ३ कात्तिक ।
इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ ।
विपिनको शव बोकेको फ्लाई दुबई को विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि आजै धनगढी पठाउने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्त नगरपालिका–स्थित उनको घरमा लैजाने र त्यहीं अन्तिम संस्कार गरिनेछ ।
विपिनको शव बोकेको विमान मंगलबार दिउँसो करिब २:३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तालिका रहेको मन्त्रालयले जानकारी दिएको छ ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू दिउँसो त्रिभुवन विमानस्थल पुग्ने कार्यक्रम छ ।
कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनेका थिए । लामो समयसम्म उनको अवस्था अज्ञात रहेपछि गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाटको क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण र फरेन्सिक जाँचपछि उक्त शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन् ।
नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीभस्थित खटिभा ८ को स्मारक तथा बेनगुरिएन विमानस्थलमा विपिनप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।