© २०२३
काठमाडौं, ३ कात्तिक ।
मोडल तथा टिकटकर आँचल नाथ (कल्पना कुमारी नाथ) मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
मुद्दामा दैलेखको भगवती नगरपालिका–१ का २६ वर्षीय सञ्जु विक, रुकुम पश्चिम चौरजहारी गाउँपालिका–६ की अनु भनिने उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षीया सरु भनिने सरस्वती भण्डारी, कैलालीको गौरीगंगा गाउँपालिका–१ की २२ वर्षीया राजेश बुढा र सोही स्थानकी २२ वर्षीया लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ ।
उनीहरूमध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकी चार जना फरार रहेका कारण फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरिएको हो । उनीहरूविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा पाँच वर्षसम्म कैद सजायको मागदाबी गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
२१ वर्षीया आँचल नाथ पछिल्ला दुई वर्षदेखि भक्तपुरको थिमिमा डेरा गरी बस्दै आएकी थिइन् । अहिले प्रतिवादी बनाइएका व्यक्तिहरूसँग उनको चिनजान टिकटकमार्फत भएको खुलेको छ ।
टिकटक लाइभका क्रममा उनीहरूबीच विवाद भएको र सोही क्रममा नाथले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका थिइन् । विवादपछि ९ असोजमा सञ्जु विकलाई भेटेर छलफल गर्ने क्रममा पनि धम्की पाएको नाथकी काकाको दाबी छ । त्यसपछि उनले प्रहरीमा जाहेरी दर्ता गरेका थिए ।
उक्त दिन नै आँचल नाथ डेरामा जलेको अवस्थामा भेटिएकी थिइन् । उनलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । दुई दिनपछि, असोज ११ गते, उनको मृत्यु भएको थियो ।
अनुसन्धानका क्रममा नाथले आफैं पेट्रोल छर्केर आगो लगाएको निष्कर्ष प्रहरीले निकालेको थियो । त्यसपछि धम्की र मानसिक दवाव दिइ आत्महत्या गर्न दुरुत्साहित गरेको ठहर गर्दै पाँच जनाविरुद्ध मुद्दा चलाउन सुझाव दिएको थियो । सोही सुझावका आधारमा अहिले जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।