© २०२३
भरतपुर, २ कार्तिक ।
भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अहिलेसम्म करिब ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो ।
भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्यारापिट र दुईवटै भिआइपी टावरको दोस्रो तलाको काम भइरहेको छ । उनी भन्छन्, “प्यारापिट र टावरमा फर्मा र डण्डी बाँध्ने तथा टावरको वाल निर्माणको काम भइरहेको छ । टावर तीन तलाको हुनेछ । प्यारापिटको पछाडिपट्टि कोठा निकाल्न ढलानको काम पनि भइरहेको छ । रङ्गशालामा चार वटा प्यारापिट र दुई वटा टावर निर्माण हुँदैछ । दैनिक १२२ जनाले काम गरिरहेका छन् । तिहारको बेला मुस्लिम समुदायका २५–३० जनाले मात्रै काम गर्नेछन्, छठपछि कामको गति तीव्र हुनेछ ।”
ठेक्का सम्झौताअनुसार अहिलेसम्म ४८ प्रतिशत काम सम्पन्न हुनु पर्नेमा केही ढिलाइ भएको महानगरले जनाएको छ । सुन्तली–धुर्मुस फाउन्डेसनले काम गर्न नसक्दा परियोजना महानगरलाई हस्तान्तरण गरिएको हो भने निर्माण जिम्मेवारी हिमालयन कालिञ्चोक बीबीआर जेभीले पाएको छ ।
महानगरका अनुसार विसं २०८३ पुस २२ भित्र रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो चरण सम्पन्न भएपछि यहाँ अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्न सकिनेछ । यस चरणमा १५ हजार दर्शक अट्ने प्यारापिट, दुई भिआइपी टावर, मैदानसहित पाँच पिच, ड्रेनेज, रेलिङ, बाटो र पार्किङ क्षेत्र निर्माण गरिने छ । थप क्षमताका लागि दोस्रो चरणमा काम जारी रहने छ ।
रङ्गशाला निर्माण त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयको २० विघा १९ कठ्ठा जमिनमा भइरहेको छ, जुन भरतपुर महानगरपालिका–१५ मा पर्दछ । निर्माण अन्तर्राष्ट्रियस्तरका खेल खेल्न मिल्ने गरी भइरहेको छ ।