© २०२३
नेपालीहरूको घर आँगनमा शनिवारदेखि नै दीपावली अर्थात् तिहारको आगमन भैसकेको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहारको पहिलो दिन शनिवार यमपञ्चक विधिवत् सुरु भएको छ ।
शनिवार नै धनतेरस थियो । त्यसै गरी आज काग तिहार हो । दीपावली उज्यालो पर्व हो र यसले सुख, शान्ति र समृद्धि ल्याउँछ भन्ने किम्बदन्ती छ । नेपालीहरूले परम्परादेखि नै चराहरूको संरक्षण गर्दै आएको काग तिहारले पुष्टि गर्दछ ।
काग बाठो हुने र सन्देश प्रवाहमा महत्त्वपूर्ण मानिने भएकोले यसलाई चराहरूको राजा भनिन्छ । तर, यही काग अहिले विनाशको सूचिमा परेको छ । काग तिहारले कागको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश पनि प्रवाह गरेको छ ।
हाम्रो वरिपरी रहेका चराचुरुङ्गीहरू वातावरण संरक्षणका द्योतक हुन भन्ने कुरा हामीले मनाउँदै आएका चाडपर्वले समेत पुष्टि गरेको छ । कागसंगै नेपालमा सारसको सङ्ख्यामा समेत कमी आएको छ । सारस विनाशको सूचिमा परेको छ ।
संरक्षणमा बेवास्ता हुँदा काग, गिद्ध र सारसमात्रै होइन अनेकौं प्रजातिका चरा नेपालबाट लोप हुने अवस्थामा पुगेका छन् । संयोग आज काग तिहार परेको छ । नेपालीहरूले मिठो खानेकुरा दिएर आज कागको पुजा गर्छन ।
कागको मात्रै होइन सवै प्रकारका चरा चुरुङ्गीको संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता छ । नेपालमा करिव आठसय प्रजातिका चरा चुरुङ्गीको बासस्थान रहेको छ । ती चरा विस्तारै लोप हुँदै जानु गंभीर चिन्ताको कुरा हो ।
प्रकृतिप्रेमीका लागि मात्र होइन, प्रकृति सन्तुलनका लागि पनि चराहरूको महत्वपूर्ण स्थान छ । पहिले जाडो याम सुरु हुँदै गर्दा आकासमा देखिने क¥याकुरुङ अहिले देखिनै छाडेका छन । बथानका बथान हिमालबाट तराईका तालमा आउने क¥याङकुरुङ लोप हुनुका पछि धेरै कारण छन् ।
चोरी सिकारी त्यसमध्ये मुख्य कारण हो । जाडोमा हिमालबाट तराई झर्ने र तराईमा गर्मी बढ्दै गएपछि हिमाल चढ्ने अरू धेरै चरा थिए तर ती पनि अहिले लोप भैसकेका छन् ।
यद्यपि रुपन्देहीको गैडहवा र कपिलवस्तुको जगदिशपुर तालमा हिमालीबाट जाडो छल्न केही चराको समूह आउने गर्दछ । ती चराहरूको संरक्षणमा सम्बन्धित पक्षले चासो दिनु जरुरी छ ।
हाम्रो प्रकृतिका धरोहर चराचुरुङ्गी हाम्रो रीतिरिवाज र संस्कृतिसँग जोडिएका छ । तिहारसँग कागका अन्योन्याश्रित सम्बन्ध छ । हाम्रा पूर्वजहरूले तिहारको अवसरमा कागको पुजा त्यसै गरेका होइनन् ।
कागलाई राजा बलीको सन्देश बाहकको रूपमा समेत लिने गरिएको छ । काग तिहारको दिन कागलाई मिठो परिकार खान दिएर यसको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश हाम्रा पूर्वजहरूले दिएकै हुन । निश्चितरूपमा कागको प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान छ ।
काग कराउँदा अनिष्ठ हुन्छ र त्यो पूर्व संकेतको रूपमा बुझ्नुपर्दछ भन्ने पौराणिक मान्यता छ । विश्वका अन्य देशलाई प्रकृतिको यो बरदान मिलेको छैन तर नेपालले कागको संरक्षण गरेको अहिलेसम्म सुनिएको छैन ।
बरु नेपाली जनमानसले तिहारको माध्यमबाट कागको संरक्षण गर्दै आएका छन् । यो अत्यन्त खुसीको कुरा हो । तिहारकै अवसरमा नेपालीहरूले कुकुर पुजा गरि कुुकुर तिहार र गोबर्धन पुजा गरि गाई गोरुलाई मिठो खानेकुरा दिने प्रचलन छ ।
चाडपर्वमा मात्रै होइन, चराचरको संरक्षणमा स्थानीय, प्रदेश र संघीय सरकारले समेत पहल लिनु जरुरी छ । बिडम्वना नै भन्नुपर्दछ– प्रकृतिका अमूल्य सम्पदा चराचुरुङ्गी संरक्षणमा सरकारले ध्यान दिन नसक्दा लोप हुने खतरा बढ्दै गएको छ ।
विश्वमै बढ्दो जनसंख्याको भार, खाद्यान्नमा विषादीको भारी प्रयोग, चोरी सिकारी प्रवृत्ति लगायतका कारण विश्वबाटै चराचर संरक्षणमा चुनौति थपिएको छ ।
नेपालबाट समेत पछिल्लोसमय चराहरूको बासस्थान लोप हुँदै गर्दा चराको चिरबिर कम हुँदै जाने हो कि भन्ने चिन्ता थपिएको छ । जेहोस आज काग तिहार हो । कागको संरक्षण गरौं । प्रकृतिप्रेमी चराचुरुङगीको संरक्षणमा ध्यान देऔं ।