© २०२३
काठमान्डौ, २ कार्तिक ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा लोडसेडिङ नहुने सुनिश्चित गर्दै आम उपभोक्तालाई ढुक्कसँग बत्ती बालेर चाडपर्व मनाउन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार तिहारको समयमा उद्योगधन्दाहरू बन्द हुने भएकाले औद्योगिक क्षेत्रमा खपत हुने ठूलो मात्रामा विद्युत् बचत हुनेछ र त्यो घरायसी उपभोक्ताका लागि सहजै उपलब्ध हुनेछ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले भने, “पहिले तिहारको लक्ष्मी पूजामा सबैभन्दा बढी लोड पर्छ भन्ने बुझाइ थियो, तर उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्छ । अहिले विद्युत् खेर जाने अवस्था भएकाले जति चाहनुहुन्छ त्यति प्रयोग गर्न सक्नुहुन्छ ।”
उनले प्राविधिक कारण बाहेक अन्य कारणले बत्ती नजानेमा ढुक्क रहन उपभोक्तालाई आग्रह गरे । प्राधिकरणको अनुमानअनुसार, तिहारमा उद्योग बन्द हुँदा दैनिक करिब २०० देखि ३०० मेगावाट विद्युत् बचत हुनेछ र त्यो सिधै घरायसी उपभोक्तालाई उपलब्ध गराइनेछ ।
विद्युत् आपूर्तिमा समस्या नआउने सुनिश्चित गर्न प्राधिकरणले कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ भने, कुनै स्थानमा विद्युत् प्रणालीमा दोष देखिएमा तत्काल समाधानका लागि विशेष टोली तयार राखिएको छ ।
विगतका वर्षहरूमा तिहारको समयमा, विशेषगरी लक्ष्मी पूजाको दिन, विद्युत् माग अधिकतम १६ सय मेगावाटसम्म पुग्ने गरेको थियो । यस वर्ष पनि सोही हाराहारीमा माग रहने प्राधिकरणको अनुमान छ । सामान्यतया तिहारमा साँझ ६ बजेदेखि ९ बजेसम्मको समयमा विद्युत् खपत ३०–४० प्रतिशतसम्म बढ्ने गर्छ ।