© २०२३
काठमाडौँ ।
जेनजी आन्दोलनको क्रममा लुटिएका हातहतियार फिर्ता ल्याउन गृह मन्त्रालयले विशेष अपरेशन सञ्चालन गर्ने भएको छ ।
आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिए।
उनका अनुसार बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरू प्रस्तुत गर्न गठन गरिएको कार्यदलको कामकारबाहीको समीक्षा गरिएको छ ।
बैठकमा निर्वाचनको वातावरण निर्माण गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई मुख्य जिम्मेवारी दिने निर्णय पनि गरिएको गृहमन्त्रीले जानकारी दिए ।
गृहमन्त्री अर्यालले आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट फरार भएका कैदीहरूलाई पुनः नियन्त्रणमा लिन सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय भएको पनि स्पष्ट पारे ।
‘हामीले यसअघि निर्वाचनको तयारीसँग सम्बन्धित रणनीतिक योजनाहरू तयार पार्न कार्यदल गठन गरेका थियौं,’ उनले भने, ‘जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरू फिर्ता ल्याउन विशेष कार्यक्रम सञ्चालन गर्छौं ।
त्यस्तै, कारागारबाट भागेका कैदीबन्दीहरूलाई फिर्ता ल्याउनका लागि पनि थप कार्यक्रम ल्याउँछौं । निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षाको प्रत्याभूति दिन सुरक्षा निकायहरूको संयुक्त गस्ती (जोइन्ट पेट्रोलिङ) अघि बढाउँछौं ।’
उनले निर्वाचनको वातावरण सुनिश्चित गर्न राजनीतिक दलहरूले समाजमा रहेका अपराधीहरूलाई दुरुपयोग नगर्ने प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता पनि औंल्याए ।