© २०२३
बुटवल, २ कात्तिक ।
रोटरी क्लब अफ बुटवल चौतारीले मानवसेवा आश्रमका आश्रितहरूलाई भोजन ग्रहण गराएको छ । बुटवलको सुख्खानगरस्थित मानवसेवा आश्रममा क्लबका सदस्यहरूले माया र सम्मानका साथ आश्रितहरूलाई खाना खुवाएर आश्रितहरुसँग क्लव सँगै रहेको सन्देश दिएका हुन् ।
क्लवका निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलको जन्मदिनलाई क्लवले मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन ग्रहण गराएर मनाएको हो । कार्यक्रममा विभिन्न रोटरीयन सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै क्लवका निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलले मानवसेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै रोटरी क्लब अफ बुटवल चौतारी र मानवसेवा आश्रमबीच लामो समयदेखि सहकार्य हुँदै आएको जानकारी दिए । उनले बिगतमा पनि मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई क्लवले भोजन ग्रहण गराएको स्मरण गर्दै यही परम्परालाई निरन्तरता दिँदै यस पटक पनि मानवीय कार्यक्रम गरिएको बताए ।

मानवसेवा आश्रमले विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावकविहीन भएका व्यक्तिहरूलाई आश्रय, भोजन तथा हेरचाह प्रदान गर्दै आएको छ । हाल आश्रममा १२५ जना आश्रित रहेका छन् ।
पौडेलले आगामी दिनमा पनि क्लबबाट आश्रमलाई निरन्तर सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । पछिल्ला वर्षहरूमा जन्मदिन, वैवाहिक उत्सव, पितृकार्यलगायत अवसरमा आश्रममा रहेका व्यक्तिहरूलाई खाना खुवाउने र आर्थिक सहयोग गर्ने सकारात्मक अभ्यास बढ्दै गएको आश्रमले जनाएको छ ।