Butwal Today

अदालत बचाउने प्रहरीलाई सम्मान 

२ कार्तिक २०८२, आइतबार
अ+
अ-

सुनवल, ०२ कार्तिक ।

जेन–जी आन्दोलनको क्रममा कार्यालयमा क्षति हुनबाट बचाउने प्रहरीलाई जिल्ला अदालत नवलपरासीले सम्मान गरेको छ । अदालतमा पटक पटक तोडफोड र आगजनीको प्रयास भए पनि प्रहरीको सक्रियताले कुनै क्षति नभएकाले अदालतको सुरक्षामा खटिएका प्रहरीलाई सम्मान गरिएको हो ।

प्रहरी वरिष्ठ नायब निरीक्षक सहित १७ जना प्रहरीलाई प्रशंसा पत्रले सम्मान गरिएको अदालतका स्रेस्तादार प्रेम नारायण पराजुलीले जानकारी दिए ।  भदौ २४ गते अदालतमा तीन पटक सम्म तोडफोडको प्रयास भएको थियो ।

अदालतको पुरानो गेट तोडेर भित्र छिरिसकेका आन्दोलनकारीलाई सुरक्षा निकायले बाहिर फर्काएका थिए । सुरक्षा निकायको सुझबुझपूर्ण कार्यले अदालतमा क्षति हुन नपाएको भन्दै प्रहरीको मनोबल वृद्धि गर्न पनि सम्मान गरिएको जिल्ला न्यायाधीश डाक्टर राजेन्द्र कुमार आचार्यले बताए ।

आन्दोलनको समयमा परिस्थिति असामान्य हुने भएकाले सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण हुने हुँदा अदालतको रक्षा गर्न सुरक्षा निकाय सफल भएको बताए ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लामा भदौ २४ गते भएको आगजनी र तोडफोडबाट व्यक्तिगत र सार्वजनिक गरी ३८ करोड बराबरको क्षति भएको जानकारी दिए ।

प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले प्रहरीले निकै संयतता अपनाएर मानवीय क्षति हुन नपाएको र अन्य स्थानको तुलनामा कम क्षति नवलपरासीमा भएको जिकिर गरे । नेपाल बार एसोसिएसनका अध्यक्ष रामकृष्ण पौडेलले जेनजीको नाममा तोडफोड र आगजनीमा उत्रिएकाहरू माथि कानुन बताए ।

जेनजी आन्दोलनको दोस्रो दिन नवलपरासीमा आगजनी र तोडफोडका घटना व्यापक भएका थिए । अन्य स्थानमा वल प्रयोग नगरे पनि अदालत अगाडि हवाई फायर र अश्रुग्याँस प्रहार गरेर भिड तितरबितर पारिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?