© २०२३
काठमाडौँ ।
आन्दोलनरत नर्स र सरोकारवाला पक्षबिच वार्ता सुरु भएको छ । सरकारको पहलमा नेपाल नर्सिङ संघ र निजी मेडिकल कलेजका सञ्चालकबीच छलफल सुरु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको १४ सदस्यीय समितिको पहलमा त्रिपक्षीय बैठक बसेको हो ।
स्वास्थ्य मन्त्रालयमा दिउँसो २ बजेदेखि बसेको बैठकले आजै नर्सहरूसँग सहमति गर्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।
‘भोलिदेखि तिहार बिदा सुरु हुने भएकाले आजै टुंगो लगाउने गरी छलफल भइरहेको छ,’ उनले भने ।
सरकारले तोकेको पाँचौँ श्रेणी अन्तर्गतको पारिश्रमिक पाउनु पर्ने माग गर्दै हाल देशभरका नर्सहरू आन्दोलनमा छन् । असोज १० गते कास्कीको मणिपाल मेडिकल कलेजका नर्सहरूले सुरु गरेको आन्दोलनमा सबै अस्पतालका नर्सहरूको समर्थन बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो । तर, मन्त्रालयको निर्णयपछि पारिश्रमिक नबढेको भन्दै नर्सहरूले सेवा बहिष्कार गरेर आन्दोलन सुरु गरेका हुन् ।
नर्स आन्दोलन चर्किएपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन दिएकी थिइन् ।
नर्सको समस्या समाधान गर्न सरकारले प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेको हो ।