© २०२३
काठमाडौँ ।
शनिबारदेखि सुरु भएको तिहारका लागि करिब ६ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको संख्या बढ्ने अनुमान गरेको छ ।
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिने यात्रुहरूका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिएका छन् ।
‘यसपटक दसैँका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नु पर्यो । तर, तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन् । अब सास्ती बेहोर्नु पर्ने छैन,’ उनले भने ।
सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताएका छन् ।
‘दसैँको समयमा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमध्ये मेची राजमार्गस्थित माईखोला खुल्न बाँकी थियो । शनिबारदेखि त्यो पनि सञ्चालनमा आइसकेको छ ।
अब राष्ट्रिय राजमार्गमा समस्या छैन,’ उनले भने, ‘कुनै कारणले वा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने अवस्था आएमा पनि तत्काल सडक सञ्चालन गर्न हामी तयारी अवस्थामा छौँ ।’