© 2026
काठमान्डौ, २ कार्तिक ।
आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी सुदृढ पार्ने उद्देश्यले आज (आइतबार) केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ ।
गृह मन्त्रालयका अनुसार बैठक बिहान ११ बजे मन्त्रालयमै बस्नेछ । उक्त बैठकको अध्यक्षता गृहमन्त्री तथा समितिका अध्यक्ष ओमप्रकाश अर्यालले गर्नेछन् ।
बैठकमा रक्षा सचिव, गृह सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी हुनेछन् । बैठकले निर्वाचन सुरक्षा तयारीको हालसम्मको प्रगति मूल्याङ्कन गर्दै आवश्यक नीति तथा निर्देशन दिनेछ ।
यसअघि शनिबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र चारै सुरक्षा निकायका प्रमुखबीच निर्वाचन तयारी र समग्र सुरक्षा अवस्थामाथि उच्चस्तरीय छलफल भएको थियो। सो छलफलपछि भोलिपल्टै गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका हुन् ।
गृह मन्त्रालयले निर्वाचन सुरक्षा तयारीलाई संस्थागत ढंगले अघि बढाउन शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरेको छ । समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू सदस्य छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य–सचिवका रूपमा रहेका छन् ।
समितिले तयार पारेको एकीकृत सुरक्षा योजना आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा लागू गरिनेछ । योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ ।
‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ । एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अअर्यालले भने, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ । सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ ।’