© २०२३
काठमान्डौ, २ कार्तिक ।
इजरायलमा हमास आक्रमणका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव भोलि (सोमबार) नेपाल ल्याइँदैछ ।
परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार जोशीको शव फ्लाई दुबई एयरलाइन्समार्फत् काठमाडौँ ल्याउने तयारी गरिएको हो । उक्त विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका तय गरिएको मन्त्रालयले जनाएको छ ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थितिमा विशेष समारोह आयोजना गर्ने तयारी गरिएको छ ।
कञ्चनपुरका जोशी अध्ययनका सिलसिलामा सन् २०२३ अक्टोबर ७ मा इजरायलको किबुत्ज क्षेत्रमा रहेका बेला हमासको आकस्मिक आक्रमणका क्रममा बन्धक बनाइएका थिए । त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो। पछिल्लो असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता र बन्दी साटासाट प्रक्रियाका क्रममा हमासले विपिनको भनेर एक शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण र फरेन्सिक जाँचपछि उक्त शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन् ।
फरेन्सिक प्रतिवेदनअनुसार विपिनको अपहरण भएको केही समयमै मृत्यु भएको निष्कर्ष निकालिएको छ ।