© २०२३
काठमान्डौ, २ कार्तिक ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले जारी केन्द्रीय समिति बैठक लम्ब्याइएकोप्रति तीव्र आपत्ति जनाएका छन् । आइतबार बिहान नयाँ बानेश्वरस्थित थापा गाउँ ब्याङ्केटमा पत्रकार सम्मेलन गर्दै उनीहरूले वर्तमान केन्द्रीय कार्यसमितिलाई गम्भीर बन्न आग्रह गर्दै ६ बुँदामा ध्यानाकर्षण गराएका हुन् ।
विशेष महाधिवेशनको माग गर्दै ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर पार्टी नेतृत्वले अझै औपचारिक रूपमा नलिएर बैठक लम्ब्याएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरे ।
पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापानिकट महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले हस्ताक्षरकर्ताहरूका तर्फबाट तयार ध्याकर्षणपत्र पढेर सुनाएका हुन् । ‘पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन’, उनले भने, ‘केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकारविपरीत केही सदस्यहरूले आफ्ना धारणा राख्नु आपत्तिजनक छ । केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेदारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौँ । अतस् विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयनतर्फ अघि बढ्न आग्रह गर्दछौँ ।’
यस्तो छ, हस्ताक्षरकर्ताहरूको ध्यानाकर्षण पत्र :
यतिबेला हामी नेपालको राजनीतिक इतिहासको गम्भीर, संवेदनशील र महत्त्वपूर्ण मोडमा छौँ । गत भदौ २३ र २४ गतेपश्चात् नेपालको राजनीति नयाँ र विशिष्ट चरणमा प्रवेश गरेको छ । जेनजी आन्दोलनमार्फत नेपाली समाजको वस्तुस्थिति, मनोभावना र चाहना एकमुस्ट रूपमा मुखरित भएको छ । यस दौरान नयाँ पुस्ताले देखाएको उत्साह, प्रदर्शन गरेको अग्रसरता र न्यौच्छावर गरेको बलिदानले नेपाली समाजलाई युगौँसम्म प्रोत्साहित, रोमाञ्चित, उद्वेलित र मार्ग निर्देशित गरिरहने छ भन्ने हामीलाई लागेको छ। साथै यस दौरान भएका तोडफोड, आक्रमण र आगजनीजस्ता उग्र क्रियाकलापहरू निन्दनीय छन्, जसले हामी सबै नेपालीहरूलाई सदा बिझाइरहनेछ ।
यतिखेर सबै सचेत नेपालीहरूको एउटै चासो र चिन्ता छ । अब नेपाली राजनीति कसरी अघि बढ्ला ? फाल्गुण २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचन होला कि नहोला ? राजनीतिक दलहरूभित्रको उकुसमुकुसले कस्तो निकास पाउला ? यसै परिप्रेक्ष्यमा बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात् गर्दै हामी नेपाली कांग्रेसका साथीहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टी विधानको धारा १७(२) बमोजिम केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेका छौँ । र जारी केन्द्रीय समितिको बैठकलाई सूक्ष्म रूपमा नियालिरहेका छौँ । यस सन्दर्भमा नेपाली कांग्रेसको उज्ज्वल र सुरक्षित भविष्य चाहने महाधिवेशन प्रतिनिधि साथीहरू, जसले पार्टीको बृहत्तर हितका लागि आफ्नो हस्ताक्षरमार्फत पार्टीको समग्र रूपान्तरण गर्ने संकल्प लिनुभएको छ, उहाँहरूलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छौँ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई हाम्रो ध्यानाकर्षण-
१. पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन ।
२. पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिको असफलताको मानकस्वरूप नेपाली राजनीतिमा धेरै घटनारदुर्घटनाहरू भएको पृष्ठभूमि हाम्रोसामु छ । तसर्थ यस कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेको छ ।
३. आगामी फाल्गुण २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचनअगावै पार्टी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशनको माग गरिएको हो। यसभन्दा उत्तम हामीसँग अर्को विकल्प छैन । तसर्थ यस मागप्रति गम्भीर रहन र कार्यान्वयनतर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको बेहोरा पुनः स्मरण गराउन चाहन्छौँ ।
४. विगत तीनवटा निर्वाचनमा नेपाली कांग्रेस पार्टीले महाधिवेशन अर्थात् पार्टी भित्र नयाँ जनादेश लिएर नवनिर्वाचित केन्द्रीय कार्यसमितिले नै निर्वाचन हाँकेको इतिहास छ । त्यही भएर अहिले पनि आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको अपरिहार्यता हो ।
५. राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला विलम्ब गर्ने,अलमलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट हामीलाई छैन । असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक बिनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कार्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिने समेत टुंगो नभएकाले वर्तमान कार्य समितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्यत रहेको प्रस्ट देखिन्छ । वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ ।
६. केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकारविपरीत केही सदस्यहरूले आफ्ना धारणा राख्नु आपत्तिजनक छ । केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेदारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौँ । अतस् विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयनतर्फ अघि बढ्न आग्रह गर्दछौँ ।