© २०२३
(विशेष गरी मानवीय कमजोरीले जैविक विविधतामा आएको नकारात्मक परिवर्तनले वृक्ष समाज निकै चिन्तित छ । मान्छेलाई बुझाउने वाक्शक्ति नभएकाले सबै पिरोलिइरहन्छन् । तैपनि केही न केही त गर्नुपर्छ भनेर विभिन्न जातिका वृक्षहरूले जैविक विविधतालाई कसरी जोगाउने भनेर एक सम्मेलनको आयोजना गर्छन् । त्यसमा पीपल, साल, बाँस र बाबियो मुख्य प्रतिनिधिका रूपमा खटिन्छन् । तिनीहरूको प्रतिनिधिमूलक छलफल यसरी सुरु हुन्छ । हावा हुरी आए जस्तै बोटवृक्षका हाँगा हल्लेको आवाज…। पात्रहरू– पीपल– पुरुष सबैभन्दा ज्येष्ठ । साल– महिला, उमेरमा दोस्रो क्रम । बाँस– महिला, उमेरमा तेस्रो क्रम । बाबियो– पुरुष, उमेरमा चौथो क्रम । एक जना मानव महिला )
पीपल– सबैलाई नमस्कार ।
सबै– नमस्कार ।
पीपल– सुन है साथी हो, वातावरण असन्तुलनको समस्या दिनदिनै बढ्दै छ । के गर्ने हो ? साल बहिनीले केही कुरा भन न त ।
साल– धन्यवाद पीपल दाजु । सबैलाई नमस्कार । हो, वन विनाशको चपेटामा पर्ने धेरैजसो हामी वनेली रुखहरू छौँ । हामीलाई त कसैले लगाउन पनि लगाउन्नन् । स्याहार संरक्षण पनि गर्दैनन् । बल्लतल्ल हुक्र्यौँ भने बन्चरो, करौँती लिएर हामीलाई नै काट्न आउँछन् ।
पीपल– त्यसो नभन साल बहिनी, हाम्रो जाति त नेपालबाटै मासिन लाग्यो नि ! पहिलेका मान्छेले हामीलाई छहारीदार बिरुवा भनी बाटोको किनारामा लगाउँथे । अहिले त बाटो विस्तार भन्दै हाम्रा दाजुभाइ सबै स्वाहा पारे । हाम्रा दाउराले पोलेका इँटा खूब राम्रा हुन्छन् रे ! अँ बाँस बहिनीले के भन्न खोज्दै छन् ।
बाँस– पीपल दाइसमेत सबैलाई नमस्कार ।
पीपल– नमस्कार । भन के भन्न खोज्दै छौ ।
बाँस– हस् पीपल दाइ । दाइले भने जस्तै बाटोको किनाराका पीपल, वर, शमी जस्ता छहारीदार वृक्षहरूको त अहिले कन्तविजोग भएको छ ।
पीपल– मैले त्यै त भन्दै छु ।
बाँस– हजुर । हामी बाँस जाति मान्छे जन्मदा कोक्रो अर्थात् डाँडी बुन्नदेखि लिएर मान्छे स्वर्गे हुँदा घाटमा लैजान चाहिने वस्तु भएर पनि कुनै ख्याल छैन । अँ बाबियो भाइले के भन्न खोज्दैछन् ।
बाबियो– मेरो पनि सबैलाई नमस्कार । हामी भुइँ घाँसको त कसले के लेखो गर्छ र ? हामी चम्कने पनि कुनै जमाना थियो ।
साल– भाइ, स्पष्ट पार्नुस् त ।
बाबियो– हजुर भन्दैछु । मोरङ सुनसरीमा जुट भाइहरू खूब मौलाउँथे । विराटनगरमा रघुपति जुट मिल, विराटनगर जुट मिल थिए । जुट भाइहरू ती जुट मिलमा काम लाग्थे । लुम्बिनी अञ्चलको चुरे क्षेत्रमा हामी मौलाउँथ्यौँ । हामी गैँडाकोटको भृकुटी कागज कारखानामा काम लाग्थ्यौँ ।
साल– हो बाबियो भाइ, तिमीले भनेको सोह्रै आना ठिक हो । तर अहिले त तिमेरु डढेलो लगाउने काममा प्रयोग भइरहेका छौ । हामी अग्ला सालका टुप्पासम्म तिमीहरू जलेको हुर्को जान्छ र डामिन्छौँ ।
बाबियो– के गरौँ त साल दिदी ! डुल्ने घुम्ने भए डढेलोबाट कि त भाग्थ्यौँ कि त प्रतिवाद गथ्र्यौँ होला । हामी सबै भुइँमा टाँसिएका छौँ । देखादेखै आफै जलेर भस्म हुन्छौँ । अब पीपल दाइ बोल्न खोज्दै हुनुहुन्छ ।
पीपल– डढेलोको डढाइ र बाटो विस्तार हुँदाको कटाइले भुइँघाँस र ठूलो रुखलाई परेको समस्या त छँदैछ । साना बुटा पोथ्रालाई परेको समस्याका बारेमा बाँस बहिनीले केही कुरा गर न !
बाँस– हस् दाजु । हामी बाँस पनि घाँस वर्गमै परेको हुनाले डढेलो लाग्दा हामी पनि झर्झरी जल्छौँ । हाम्रा जराले भुइँलाई बलियो गरी समात्ने हुनाले मान्छेले कोदालाले खनेर हामीलाई फाल्न सक्तैनथे ।
बाबियो– हो । निकै साह्रो जमिन खन्दा कस्तो बाँसका जराले जेले जस्तो रहेछ भन्छन् मान्छेले ।
बाँस– कोदालाले खन्ने खोस्रने जमानामा हामी धेरै सुरक्षित थियौँ । आजभोलि त स्काभेटर भन्ने मेसिनले हाम्रो जमेर बसेको सयौँ जनाको परिवार एकै पटकमा उत्तानो पारिदिन्छ ।
पीपल– हो त ! मेसिन प्रयोग नगरेका भए हामी बाटो किनारमा चौतारीमा जमेर बसेकालाई फाल्न त वर्षौँ लाग्ने थियो । अहिले त छिनघडीमा मिल्क्याउँछ । मान्छेले मेसिन प्रयोग गरेर विकास गरेको छ कि विनाश गरेको छ मैले बुझ्न सकेको छैन ।
बाँस– त्यै त ! मैले पोथ्रा बोटबिरुवाका समस्या अलिकति भन्दैछु ।
साल– ल ल भन बहिनी हामी साल, पीपल जस्ता अग्ला बोटबिरुवाले पोथ्रापोथ्रीका मर्का कम बुझेको हुन सक्छ ।
बाँस– वास्तवमा हामी पोथ्रा वर्ग सबैतिरबाट हेपिएका सताइएका छौँ । वन चरुवा जन्तुजनावरले खाने चपाउने पनि हामीलाई नै हो । आफ्ना शत्रुबाट जोगिन लुक्न छिप्न पनि हामीलाई नै प्रयोग गर्छन् । अनि डढेलो लाग्दा भसाकभुसुक्क डढ्ने पनि हामी नै हो ।
पीपल– अझै अरू पनि छन् कि ?
बाँस– अझै कति छन् कति हामी पोथ्रा झाडिदार बोटबिरुवाका पीडा, पीपल दाइ ।
पीपल– ल ल ! नहतारिएर भन । यसको समाधानको बाटो खोज्नैपर्छ ।
बाँस– हजुर अवश्य पनि । सानादेखि ठूला मान्छेले घाँस काट्दा पनि मासिने हामी नै हो । अझ महत्त्वपूर्ण कुरा त भन्नै बाँकी छ ।
बाबियो– लौ लौ बाँस दिदी खुलस्त पार्नुस् । त्यसपछि बाबियो खर जस्ता झार वर्गका समस्या मैले भनुँला ।
बाँस– हुन्छ । हुन्छ भाइ । अँ मैले भन्दै थिएँ । हामी पोथ्रा वर्गका सबैभन्दा ठूलो समस्या ।
बाबियो– हजुर दिदी ।
बाँस– अहिले हाम्रो देशमा सरकारी वनलाई सामुदायिक बनाउने चलन छ ।
बाबियो– हजुर हो दिदी ।
बाँस– सामुदायिक वन बनाएपछि त्यो वन क्षेत्रको कटनी छँटनीको अधिकार ती उपभोक्ताबाट चुनिएर वन समितिलाई हुन्छ ।
बाबियो– हजुर हो दिदी ।
बाँस– अनि कटनी छँटनी गर्दा ठूलाबडा जातका बिरुवा खर्लक्कै छाडिन्छ । अरू पोथ्रा वर्गका बिरुवा नाम निसाना नराखी मासिन्छ ।
पीपल– ओहो ! यो त जातीय सफाया नै भयो त बाँस बहिनी । पुराना जमानामा जर्मनीका नाजीहरूले यहुदीको सफाया गरे जस्तो !
बाँस– हो त पीपल दाजु । अनि हाम्रा पात मन्टा खाएर बाँच्ने वनेली जीवजन्तु कसरी बाँच्ने ? कसरी शत्रुबाट छिप्ने ?
बाबियो– हो । हामी जस्ता पोथ्राका आश्रय बस्ने झार वर्ग पनि बस्न नसक्ने भइयो ।
पीपल– हैन यी मान्छे के भएका हुन् ? भाषण गर्दा त जैविक विविधता सन्तुलनका कुरा गर्छन् । व्यवहार भने ठीक उल्टो पो रहेछ !
बाँस– हजुर हो पीपल दाइ । यसै कारणले त आज भोलि गाउँघरमा बाँदरले उठिबास लगाएको छ । बँदेलले मृगले हैरान पारेका छन् । दुम्सीले सताएको छ ।
साल– हैन, नेपालमा हरियाली बढेको छ भन्ने सुनिन्छ त बाँस बहिनी ! के यो झुठो हो र ?
बाँस– औसतमा बढेको होला । जसरी कहीँ अन्न फालिने कहीँ भोकले मर्ने अवस्थामा तथ्याङ्क लिएर औसत निकाल्दा ठिक्क खान पुग्ने अवस्था देखिन आउँछ नि ! हो त्यस्तै हो यहाँको बढेको हरियाली ! असन्तुलित !
साल– कस्तो असन्तुलित भनेको बाँस बहिनी ?
बाँस– हजुर म भन्दै छु । हरियाली बढाउन भनी विभिन्न जातजातिका सल्ला उत्तिस जस्ता बिरूवा रोपियो । ती हुर्के र हरियाली पनि भयो । तर न भुइँ जनावरलाई आहाराको आवश्यकता ट¥यो न बाँदर, चराचुरुङ्गी जस्ता जीवजन्तुका लागि आहारा भयो । अनि मात्र हरियाली ! प्राकृतिक वन जस्तो भएन ।
बाबियो– अझ सल्लाका झरेका पातको खातले त हामी जस्ता झार जातिलाई सास फेर्न पनि नसक्ने बनाउँछ । अनि डढेलोको सम्भावना अझ ज्यादा !
बाबियो– हो, बाबियो भाइले निकै गम्भीर कुरा गरे ।
साल– पहाडी क्षेत्रमा मोटरबाटो बनाउँदा बिग्रेको भूबनोटको त कुरै आएनन् ए !
बाबियो– हामी जस्ता भुइँ झारपातका कुरा कसले पो सुन्ला र दिदी ? यसको बारेमा त बाटो किनारामा बस्न रमाउने पीपल दाइले कुरा गर्नुहोला नि !
पीपल– त्यसको बारेमा त म पक्कै बोलुँला तर म अहिले नारायणघाट कपिलवस्तु सडक विस्तारमा मारिएका मेरा हजारौँ आफन्तको आसौचमा छु । बोलौँ कि न बोलौँ होला ?
बाबियो– जे हुने हो हुन्छ तर मौकामा बोल्नुपर्छ दाजु । हजुरलाई सबैले सम्मान पनि गर्छन् ।
पीपल– त्यो त हो बाबु । मानव समाजले पनि अरू रुख बिरुवालाई भन्दा मलाई बढी नै आदरभाव राख्छन् । हेर बाबियो बाबु, पहाडी क्षेत्रमा बाटो खन्दा निस्केको माटोढुङ्गाको अव्यवस्था ठूलो समस्या बनेको छ । जैविक विविधता सन्तुलनका लागि कुनै पनि क्षेत्रको माटोढुङ्गाको पनि सन्तुलन मिलाउनुपर्छ ।
साल– बाटो खन्दा निस्केको माटो त्यहीँ वरिपरि व्यवस्थापन भएको हुनुपर्ने हो पीपल दाजु ?
पीपलदाजु– हो त साल बहिनी । चिनले ठूलो बाँध बनाउँदा पृथ्वीको गति थोरै मन्द भन्ने सुनेका छैनौ ?
साल– हजुर पो मानव सम्पर्कमा हुनुहुन्छ र थाहा पाउनुभयो । हामी त वन भिर पाखामा रहनेलाई कसरी थाहा होओस् त ?
बाबियो– त्यसैले त बेलाबेलामा यस्तै भेटघाट गर्नुपर्छ भनेको नि !
साल– हो त । ए उसो भए जथाभावी डाँडापाखा भत्काउनु, ठूलो मात्रामा पानीको बहाव रोक्नु प्रकृति विरुद्धको काम रहेछ हैन पीपल दाइ ?
पीपल– एकदम ठीक कुरा ग¥यौ बहिनी । बाटो खन्दा निस्केको माटोढुङ्गा जथाभावी वनपाखामा मिल्क्याउँदा वनपाखाको प्राकृतिक गोरेटा सबै मेटिएका छन् । यसले गर्दा धेरै वनपाखा भिर बनेका छन् ।
बाबियो– हामी जस्ता भुइघाँस यसको ठूलो चपेटामा छौँ ।
पीपल– भुइँघाँस सबै मासिएको छ । यो मर्का कसले बुझ्ने ? पानी अडिने काम पनि त कम भएको छ ।
बाबियो– पीपल दाजुले हामी भुइँघाँसको तर्फबाट बोल्नुभएकोमा धन्यवाद ! यसरी गोरेटा र भुइँघाँस मासिदा त्यहाँका जङ्गली जनावर के खाएर बाँच्ने र कसरी हिँडडुल गर्ने ? अनि सोहोरिदै स्वतः बस्तीतिर जाने भए ।
पीपल– ल, बाबियो भाइले मान्छेले बिगारेको प्राकृतिक अवस्थाको राम्रो विवेचना गरे । पहिलेका मान्छेहरूले बाटोमा हिँड्ने यात्रुहरूलाई सित्तलमा सुस्ताउन सजिलो होस् भनेर पीपल, वर, शमी, डुम्री, आँप, पाकुरी जस्ता वृक्ष लगाउँथे । त्यसका आसपासमा ठूलो पोखरी खनेर बर्खाको पानी जम्मा गर्ने गर्थे ।
साल– हो पीपल दाइ । त्यो पोखरीको बीचमा हामी साललाई काटेर बनाइएको मौलो पनि गाड्थे ।
पीपल– हो साल बहिनी । पोखरीमा पानी कति छ भन्ने जान्न यसरी मौलो गाड्थे ।
साल– यो मौलो बनाउन साल नै चाहिने किन रहेछ कुन्नी ? मौलाको कुरा गर्दा पनि आङ जिरिङ्ग हुन्छ ।
पीपल– साल बहिनी तिमीहरू सयौँ वर्षसम्म कुहिन्नौ नि ! त्यही भएर तिमीहरूलाई गाड्ने गरेका हुन् ।
साल– बलियो हुनु पनि अभिसापै रहेछ ।
पीपल– हो साल बहिनी, विवेक नभएको मानव समाजमा राम्रो गर्दा कहिलेकाहीँ नराम्रो आइलाग्छ ।
साल– दाइले मेरो मन राखिदिनका लागि मेरो कुरामा करुणाभाव देखाउनुभएकोमा धन्यवाद । दाइ, हजुरलाई त विष्णु भगवान् भनेर पूजा गर्छन् । सम्मान गर्छन् क्यारे । त्यो देखेर मलाई रहर लाग्छ । जीवनमा पीपल हुन पाएको भए पनि त कति जाती हुन्थ्यो भनेर ।
पीपल– हो साल बहिनी । हामीलाई मानसम्मान गर्छन् । चौपारी बनाएर राम्रो आड भरोसा पनि दिन्छन् तर .. ।
साल– तर.. के भन्न खोज्नुभएको हो र पीपल दाइ ।
पीपल– तर कतिपय मान्छेहरू मेरै छायामा बसेर मेरै जरामा, ढाडमा घोपेर चोप निस्केको रमाइलो मानेर हेर्छन् । म दुखेर रन्थनिन्छु । त्यो चोट सञ्चो हुन लामो समय लाग्छ । कहिलेकाहीँ त त्यसै घाउबाट कीरा पसेर मलाई थोत्रो, धोद्रो बनाउने र सुकाउने पनि गर्छन् ।
साल– दाइ, प्रकृतिले मान्छेलाई सबैको आत्म जान्न सक्ने, बुझ्न सक्ने क्षमता दिएर पठाएको छ । तर आजको मान्छे किन यति विधि दूषित मनस्थितिको भयोहोला ? बाबियो– हो त । यो मान्छेले जहाँ छोयो उहीँ बिग्रने । मानौँ यो प्रकृतिको उच्चस्तको झीँगाहो । जे छोयो उसमा औँस्याहा पारिहाल्छ, बिगारिहाल्छ ।
पीपल– साल बहिनी र बाबियो भाइको कुरा सुन्दा मान्छेले गरेको अर्को कुराको याद आयो ।
साल– भन्नुस् न पीपल दाइ । हामीलाई भेट्न त मान्छे बन्चरो र करौँती लिएर आउँछन् । मलाई त मान्छे देख्दा डर लाग्छ । हजुरलाई त सुखदुःख, पूजापाठ, यात्रा साइत आदिमा सम्झन्छन् ।
पीपल– हो बहिनी, मान्छेसितको मेरो नजिकको सम्बन्ध छ । अँ अघि पोखरीको मौलोको कुरा गर्दै थियौ ।
साल– हजुर हो । अनि आजभोलि त मौलो बनाउन हामीलाई काट्न आएका छैनन् । के अचाल मान्छेले पोखरी बनाउन छाडेर पीपल दाइ ?
पीपल– हो बहिनी । अघिअघिका मान्छेले बाटो किनारमा पीपल, वर, शमी लगाउने पोखरी बनाउने गर्थे । हामी हुर्कँदै जाँदा जब एक हजार पात हुन्थे अनि हाम्रो विवाह गरिदिन्थे । हाम्रो कर्म चलेपछि बल्ल हाम्रो पूजा गर्ने गर्थे । अँ बाँस बहिनीले के भन्न खोज्दैछिन् ।
बाँस– गाउँघरमा पोखरी मासिएका कुरा आउलान् भनेर कति पर्खेँ तर कतैबाट आएनन् । जो तिर्खाउँछ उही खोला धाउँछ भने जस्तै । मैले मुख फोरिहालेँ ।
साल– भन भन बाँस बहिनी, तिमीहरू पनि मानव बस्तीका नजिकै बस्ने रुख बिरुवा हौ । तिमीलाई त पीपल दाइलाई भन्दा पनि बढी थाहा छ ।
बाँस– हुन्छ दिदी अवश्यै पनि । सबैले ध्यान दिएर सुन्नुहोला । पहिले पहिले प्रत्येक घरमा घरको बलेनीको पानी जम्मा गर्ने सानोतिनो पोखरी हुन्थ्यो । अनि गाउँटोलको सार्वजनिक ठाउँमा पीपल वर र शमीका चौतारी र पोखरी अनिवार्य हुन्थे ।
साल– बलेनीको पानी खानका लागि पनि प्रयोग गर्थे र बाँस बहिनी ?
बाँस– हो । धेरै पटक पानी परेर छानो सफा भइसकेपछि बलेनीको पानी खानका लागि पनि प्रयोग गर्थे । बलेनीको पानी जम्मा गर्ने ती पोखरीको पानी गाईवस्तुलाई खुवाउन करेसाबारीमा पानी लगाउन प्रयोग गरिन्थे । पानी कति ठूलो प¥यो भन्ने कुरा मान्छेहरूले ती पोखरीमा पानी कति बढ्यो भनेर अनुमान गर्थे । कतिपय ठूला पोखरीको पानी त माघपागुनसम्मै रहन्थ्यो ।
बाबियो– ओहो ! पोखरीले त मौसम विज्ञान विभागको काम पो गर्ने रहेछ ।
साल– अँ बाँस बहिनी, उसो भए पानी परिरहेको समयमा मान्छेलाई पँधेरा जानै पर्दैनथ्यो ?
बाँस– हो दिदी । पोखरीमा पानी छउन्जेल वस्तुभाउलाई खुवाउने पानी लिन जानुपर्दैनथ्यो । मान्छेले निकै सुखको अनुभूति गर्थे । जब पोखरीलाई विभिन्न बाहनामा पुर्दै गए अनि पँधेराका पानीको मूल पनि छिट्टै सुक्न लागे ।
साल– पोखरीका पानी र पँधेराका मूलको के सम्बन्ध छ र बाँस बहिनी ?
बाँस– साल दिदी, पोखरीको पानी र पँधेराका मूलको त कति निकट सम्बन्ध हुन्छ नि !
साल– लौ न राम्ररी बुझाइदेऊ त्यो सम्बन्धका बारेमा ।
बाँस– अवश्यै पनि साल दिदी । तपाईँहरूका जरा त टाढाटाढा पुग्छन् । अलि गहिराइमा पनि जान्छन् र जमिनमा पानीको अभावको उति अनुभव हुँदैन होला ।
साल– हजुर हो ।
बाँस– हामी मूल जरा नहुनेहरूले त जमिनको माथिल्लो सतहमा भएको पानी र मल लिएर निर्वाह गर्नुपर्छ । ठाउँठाउँका पोखरीमा पानी हुँदा त्यो पानी विस्तारै जमिनमा पच्दै जाँदा हामीले पनि लिन पाउँथ्यौँ । त्यै पानी तलतल गएर मूलको रूपमा निस्कने त हो ।
साल– ए त्यै बर्खाको पानी पचेर मूल बन्ने हो र ?
बाँस– हो त नि । बर्खामा परेको पानी पृथ्वीको सतहमै बगेर गयो भने भल हुन्छ । त्यै पानी सतहभित्र पसेर विस्तारै बगेर कहीँ गएर निस्कियो भने मूल बन्छ ।
बाबियो– बाँस दिदीले साह्रै गाँठी कुरा गर्नुभयो । आजकाल हामी पछिसम्म किन हरिया बन्न सकेका छैनौँ भन्ने कुरा बल्ल थाहा पाएँ । अहिले पँधेरा सुकेका पोखरी, चिदी, धाब वा सिमसार सुकेको पोखरी मासिएकाले पो रहेछ ।
बाँस– हो त ।
बाबियो– मैले त खोलाबाट पानी लिफ्टङ्ग गरेर ल्याएको त पँधेराभन्दा सुविधाका लागि पो भनेको थिएँ । अभाव टार्नका लागि पो रहेछ बरा !
बाँस– लौ हेर त मान्छे आफ्नै दुर्बुद्धिले कति पराश्रयी बनिरहेको छ । अब बिजुली आएन भने पनि मान्छेले पानी खान पाउन्न । पानी तान्ने मोटर बिग्रे पनि गाउँभरि पानीको हाहाकार हुन्छ ।
बाबियो– साँच्चै हजुरले भने जस्तै लिफ्टिङ्ग प्रणाली बिग्रियो भने ती मान्छेले के गर्लान् ? मैले त अनुमानै गर्न सकिनँ ।
बाँस–अलि अलि पानी हुने पँधेरा पनि सफा गर्न छाडे त । जारको पानी त खाने होलान् नि !
बाबियो– पहिले पहिले जस्तो गरी आकाशबाट बर्खाको पानी पर्न छाड्यो भन्छन् नि !
बाँस– अवश्यै हो । सिमसार, पोखरी, घोला, तलाउ आदिको जलवाष्पद्वारा बनेको स्थानीय जलचक्रले वर्षाको बारम्बारता बढ्ने हो । कङ्क्रिटको बस्तीले पनि जमिनमा पानी सोसिन रोकेकाले जमिन सुख्खा हुँदैछ । सिमेन्टका नालीले गर्दा पनि पानी सोसिन पाएको छैन ।
साल– एकछिन नअडिई स्वात्तै बगेर खोलामा पुगिहाल्छ सिमेन्टका नालीबाट ।
बाबियो– हो । लौ पहाडतिरका कुरा त सकिए होलान् । अनि तराईको डुबानले पनि त जैविक विविधतामा असर पारेको छ नि ! यस बारेमा कसले बोल्ला ?
बाँस– लौ साल दिदी हजुरका शाखासन्तान निमिट्यान्न पारेर फैलिइरहेको तराईको डुबानका बारेमा हजुरले त बोल्ने होला नि !
साल– यस बारेमा त मैले भन्दा पीपल दाइले सुन्दर तरिकाले प्रष्ट पार्नुहुन्छ होला ।
पीपल– लौ हुन्छ । मैले सकेसम्म जानेसम्म केही भन्छु ।
बाबियो– पीपल दाइले नजानेको के हामीले जानौँला र ? उहाँका कुरा निकै गढिला हुन्छन् । अरूले गाएको र नानीका बाले मुख बाएको भन्छन् ।
(सबै हाँस्छन्)
पीपल– सुन भाइ बहिनी हो, तराईको समस्यामा पनि मान्छेकै ठूलो हात रहेको छ । मान्छेले तराईको भूबनोट विकृत बनाए ।
बाबियो– कसरी नि पीपल दाइ ?
पीपल– आफ्नो सन्तुलन मिलाउन प्रकृतिले आफै जानेको हुन्छ । तालतलैया, घोलाखोलाले बर्खाको पानी सन्तुलन गर्थे । अहिले ताल खोलेर वा पुरेर खेती गर्न लागे । अनि त्यो तालमा अट्ने बराबरको पानी बस्ती डुबाउनका लागि जाने भएन र ?
साल– साह्रै चित्तबुझ्दो कुरा गर्नुभयो पीपल दाइले । यसलाई कसरी पुरानै ठाउँमा ल्याउने होला हँ पीपल दाइ ?
पीपल– अलि ज्ञानी मान्छेलाई यो कुरा भन्नुपर्छ । सुझाव दिनुपर्छ ।
साल– पशुवाक्यसम्म त मान्छेले बुझ्छन् भन्थे । वृक्षवाक्य पनि बुझ्छन् र पीपल दाइ ?
पीपल– ज्ञानी विवेकीले राम्ररी बुझ्छन् । पहिलेका ऋषिमुनिले हाम्रो भाषा बुझ्थे र त वनस्पतय शान्तिः भनेर वेदमा लेखे । आजभन्दा एक सय वर्ष अगाडि वृक्षवाक्य बुझ्ने वैज्ञानिक जगदिशचन्द्र बोस थिए ।
बाबियो– ए उसो भए त अहिले पनि कोही न कोही अवश्यै होलान् । यसमा कुनै शङ्का छैन ।
बाँस– अँ त पीपल दाइ, शनिवार हजुरका फेँदमा जल चढाउन, पूजा गर्न मान्छेहरू आउँछन् । त्यही मौकामा हजुरले यी सुझाव राख्नुप¥यो ।
बाबियो– बाँस दिदीले भनेको कुरा एकदम सही छ ।
पीपल– सबैको इच्छा त्यै छ भने मैले पनि त नाइँको नास्ति गर्नु भएन त !
बाँस– पीपल दाइलाई त शनिवार जल चढाएर पूजा गर्छन् ।
मूले ब्रह्मा त्वचा विष्णु शाखा रुद्र महेश्वर ।
पत्रपत्र सर्व देवानां वृक्षराज नमोस्तुते । मन्त्र भनेर पूजा गरेर ढोग्दिन्छन् ।
साल– ओहो ! त्यत्रा मान्छेले वृक्षराज भनेपछि त हामीले नमानेर भयो र ? देवताका कुरा भक्तले भक्तका कुरा देवता बुझ्ने कुरा भैहाल्छ नि !
बाबियो– भगवान् श्रीकृष्णले अश्वत्थ सर्व वृक्षाणां भनेर सबै वृक्षमा म पीपल हुँ भनेपछि हजुर नै सर्वसम्मत हुनुभयो त मान्छेसित वार्ता गर्नमा ।
साल– हैन बाबियो भाइ त बाँस बहिनीभन्दा पनि जान्ने वाह !
बाबियो– कुश दाइसितका सङ्गतले जानेको हुँ हजुर । भित्रबाहिर बढार्न कुचो बनेर तीज दशैँमा रमाइलो गर्न पिङ बनेर मान्छेको सङ्गत हुने गरेको छ । सङ्गत गुनको फल त हुनै प¥यो नि हजुर !
(शनिवारको दिन । पीपलको रुखमा जल चढाउने थुप्रै मान्छेको गल्याङ्मल्याङ् आवाज । त्यसमध्ये एक जना ध्यानी महिला छन् । उनी पशुवाक्य मात्र हैन वृक्षवाक्य पनि बुझ्छिन् । बोटबिरुवासित पनि सम्वाद गर्छिन् ।)
महिला– (अरू महिलालाई) ए ए माहिली, त्यो जूठो पानी पीपलको बोटमा नराख न ! शिव ! शिव !! शिव !!!
पीपल– नानी, श्रद्धाले दिएको कुरा हो भने मलाई जूठोले पनि केही फरक पार्दैन । ती माहिली नानीलाई नहप्काऊ ।
महिला– वृक्षराज, हजुरले भनेको के साँच्चै हो र ?
पीपल– हो त । मैले किन झूठो बोल्थेँ र !
महिला– श्रद्धाले जूठोको दोष काट्छ र ?
पीपल– दोष काट्ने हैन । श्रद्धामा जूठोको दोष नै हुँदैन । काट्ने भन्यो भने त श्रद्धाको केही अंश दोष कटाउन खर्च हुने भन्ने बुझिन्छ नि !
महिला– त्यो त हो ।
पीपल– भगवान् श्रीरामले शवरीका जूठा बयर खाएको कुरा थाहै छ नि हैन र ?
महिला– शिव ! शिव !! शिव !!! हो त नि ! अनि वृक्षराज, यति धेरै पूजा अर्चना गर्दा हजुर यसरी बोल्नुभएको थिएन । आजको पावन दिनमा हजुरको वाणी सुन्ने सौभाग्य पाएँ । म धन्य भएँ । हामी भाग्यवान् भयौँ ।
पीपल– हो । म अहिलेसम्म तपाईँहरूसित बोलेको थिइनँ । सबै समयको खेल हो ।
महिला– हजुर बोलेको मैले मात्र बुझे पनि हजुरसितको सम्वादको भावसार त उपस्थित सबैले सुन्नुभएको छ, बुझ्नुभएको छ । सबै अत्यन्त खुसी भएर हाम्रो सम्वाद चासोका साथ सुनिरहनुभएको छ ।
पीपल– ल ठीक छ । सबैको खुसी र सन्तोषको मुहार मैले देखिरहेको छु, अनुभव गरिरहेको छु । म त सधै नै खुसी थिएँ र छु पनि । आज नानीसित प्रत्यक्ष सम्वाद गर्न पर्नुको केही कारण छन् ।
महिला– मर्जी होस् वृक्षराज ।
पीपल– पहिलो कुरा त नानीहरूले शनिवार शनिवार जल दान गर्छौ । यो साह्रै उत्तम व्रत हो । भनिएकै छ–
नान्नोदकं समं दानं नतिथिद्र्वादशी समा । नगायत्रा परो मन्त्रा नमातुर्दैवतं परम् ।
अर्थात् जल दान जस्तो ठूलो दान केही छैन । द्वादशी जस्तो उत्तम तिथि अर्को छैन । गायत्री जस्तो उत्तम मन्त्र अर्को छैन र आमाभन्दा ठूलो देवता छँदैछैन । तर..
महिला– तर.. के हजुर ?
पीपल– नानी, एउटै चौतारीमा लहरै वर र शमीसमेत बसेका छौँ । मलाई मात्रै पानी दिएको उनीहरूले टुलुटुलु हेर्दा कति असजिलो लाग्छ नि नानी ।
महिला– हजुर, हाम्रा आँखा उघारी दिनुभयो । अब हामी सबैलाई उत्तिकै मर्यादाले सम्झन्छौँ ।
पीपल– नानी, हामीलाई तिम्रा जिजुबुबा जिजुआमाले लगाएर हुर्काउनुभएको हो । हाम्रा हजार हजार पात भएका न्वाठे बैसालु हुँदा हाम्रो विवाह कर्म गरिदिनुभएको हो ।
महिला– ए विवाह पनि गरिदिनुभएको हो ?
पीपल– हो त । तिम्रा छोराछोरीसित पाँच पुस्ता भैसक्यो । त्यसपछि यो नाङ्गो बाटोमा कसैले छहारीदार रुख रोपेर हुर्काउने चाहना गरेनन् ।
महिला– उः त्यहाँ परतिर एक जनाले त रोपेथे । तर हुर्केन ।
पीपल– हजुर हो नानी । एक जनाले उः पर एउटा रुख रोपे । हामी दोस्रो पुस्ता ढिलै भए पनि आउने भयो भनेर खुसी भयौँ । उनले न बारबेर गरे । न पानी दिए । यहाँ धुइरो धुइरो मान्छे आएर पानी दिन्थे तर त्यो सानोलाई कसैले एक आमखोरा पानी दिएनन् ।
महिला– हजुर हो । हामी पनि अविवेकी भैयो । जसले लगाएको हो उसैले हुर्काओस् भन्ने ईष्र्यालु भावले ती बिरुवाको गुहार गरिएन ।
पीपल– हजुर हो । अनि त गाई बाख्राको टोकाइ र पानीको तिर्खाले परमधाम गए विचरा ! ती रोप्ने व्यक्ति त रोपेपछि एक दिन पनि हेर्न, सेवा गर्न आएनन् ।
महिला– हजुर हो ।
पीपल– त्यसरी रुख रोप्नु र नरोप्नुमा केही फरक हुँदैन नानी । बरु नरोपेकै ठीक । त्यो बिरुवा आफ्नै ठाउँमा बरु दुःखसुखले हुर्कन्थ्यो कि ?
महिला– हो त नि ! हामीले यसरी जल दान गर्ने गर्छौँ । यदि बिरुवालाई माया गर्ने संस्कार हो भने त अरू बिरुवा पनि रोप्ने बुद्धि आउनुपर्ने हो नि !
पीपल– हो त । माया हो कि अन्ध परम्परा बुझ्नै गाह्रो !
महिला– अनि ए हजुर, हजुरसित एउटा कुरा सोध्न मन लागेको थियो ।
पीपल– सोध न नानी । जानेको भए बताउँला । नजानेको भए जानिनँ भनुँला ।
महिला– हाम्रा पुर्खाले हजुरहरूलाई यसरी पूजा गर्न किन थाले होलान् ?
पीपल– हाम्रो सित्तल सेवा र प्रतिकूल वातावरण पनि सहन गर्न सक्ने क्षमता देखेर नै पुर्खाले पुज्न थाल्नुभएको हो । नानी हामी अफ्ठ्यारो ढुङ्गे पहरा, रुखका टोड्कामा उम्रन्छौँ बढ्छौँ ।
महिला– अहिलेको कुरा गर्ने हो भने सिमेन्ट लगाएका भित्ता गारामा पनि उम्रे बढेको देखिन्छ ।
पीपल– हजुर हो ।
महिला– साह्रै अफ्ठ्यारो परिस्थितिमा हुर्कन बढ्न सक्ने क्षमता ! धन्य हो धन्य !
पीपल– हो त । जब हामीले सहन गर्न नसक्ने वातावरण हुन्छ अनि त्यो ठाउँ मरुभूमीकरणको चपेटामा अवश्यै पर्छ पर्छ । यही सूचक ठानेर हामीलाई पञ्चपल्लव भनी पीपल, वर, शमी, डुम्री, आँप यी पाँच वृक्ष श्रद्धाका साथ रोपिन्छ ।
महिला– ओहो ! यो त निकै महत्त्वपूर्ण कुरा थाहा भयो । रामायणमा राम वनवास गएका बखत पञ्चवटीमा डेरा गरे भनेको पनि यिनै पाँचवटा बोट भनेको हो र वृक्षराज ?
पीपल– हो त पञ्चवटी !
महिला– पहरामा रुखको टोड्कामा उम्रेर कसरी वंश विस्तार हुन्छ र वृक्षराज ?
पीपल– हाम्रा पात र हाँगा घाँस खाने जनावरका लागि निकै मीठो पोषिलो हुने हुँदा भुइँमा उम्रेर सहजै हुर्कन हामीलाई असम्भव जस्तै हुन्छ ।
महिला– हो । गाई भैँसी विरामी भएका बेलामा औषधीको रूपमा हामीले पीपलको घाँस खुवाएको मलाई याद छ हजुर ।
पीपल– हो । यसैले हामीलाई सहज जोगिन गाह्रो छ । प्रकृतिले नजानेको केही छैन । त्यसैले हामीलाई पहरामा रुखको टोड्कामा उम्रेर सुरक्षित रहन सिकाएको छ । यसरी हुर्कन सहज नभए पनि सुरक्षित रहनसक्नु ठूलो कुरा हो ।
महिला– पहरा त पहाडमा पो हुन्छन् । अनि समथरमा नि ?
पीपल– नानीले निकै महत्त्वपूर्ण कुरा गर्नुभयो । हो समथरमा पहरा नहुने भएकाले रुखका कुनै कुहे सडेका अङ्गमा उम्रेर हुर्कनुको विकल्प छैन ।
महिला– ए हो त नि ।
पीपल– हात्ती जस्ता बलिया जनावरले हाम्रो घाँस ज्यादै मीठो मान्ने भएकाले लुकीछिपी अर्को रुखको आड लिएर हुर्कँदै गएर हात्तीभन्दा बलिया भएर जोगिनुपर्छ । अहिले पो मान्छेले रोप्ने स्याहार गरेर हुर्काउने गर्न लागे । सृष्टिकालको सुरुमा जोगिन कति गाह्रो थियो नि !
महिला– सृष्टिकालमा भन्दा अहिले बाँच्न झन् गाह्रो भएको हजुरलाई थाहा छैन र ?
पीपल– यही कुरा त तिमीसँग गर्न आएको हुँ । बाटो विस्तारका नाममा हामी पञ्चपल्लवलाई खोजीखोजी उत्ताना जरा लगाउन लगाउने ती इन्जिनियर भाइबहिनीलाई अलि करुण भाव राख्न भन्नू ।
महिला– यसका लागि त प्यूठानका पक्की सडक अवलोकन गर्न भन्छु । बाटो किनारका वर, पीपलका कारण बरु बाटो अलिकति बङ्ग्याएका छन् तर रुख जोगाएका छन् । यो कुरा मैले अवश्यै राख्नेछु ।
पीपल– हामी हुर्कँदै गएको ५० वर्षपछि हाम्रै छहारीमुनि टहरो बनाउने र रुखले टहरालाई बाधा पा¥यो भनेर हामीलाई मास्ने निवेदन दिन्छन् । त्यसरी मास्न अनुमति दिनेलाई हामी के भन्न सक्छौँ र ?
महिला– हजुर यस्तालाई त प्यूठान बाग्दुलाको चोकको वरको रुखको दर्शन गरेर निर्णय लिन भन्ने छु ।
पीपल– धन्यवाद नानी । हो, यो बाग्दुलाको वरको रुखका बारेमा साथीहरूले मसँग भनेका थिए । ती घरधनीलाई मेरो शुभाशिष सुनाइदिनू जसले वरको हाँगो काट्नुपर्छ भनेर आफ्नो घरको तला थप्न रोकेका छन् ।
महिला– अवश्यै पनि । अँ त वृक्षराज, तपाईँहरूमा हाम्रो जस्तै ज्ञानेन्द्रियको चेतन क्षमता हुन्छ ।
पीपल– हुन्छ । तर अलि फरक तरिकाले ।
महिला– छोटकरीमा सुनी पाउँन हजुर ।
पीपल– अवश्य पनि । लौ सुन । पहिलो कुरा त तिम्रा पूर्वज हामी सबैका ऋषिमुनिहरूले … वनस्पतय शान्तिः … भनेर वनस्पतिलाई पनि शान्ति चाहिन्छ भनेर हामीमा जीवन देखे । नानी किन गहगह आँसु गरेकी ?
महिला– उस्ता करुणामूर्ति पुर्खाका सन्तान हामी आज यस्तो धुन्धुकारी बन्यौँ भनेर साह्रै दुःख लाग्यो वृक्षराज ।
पीपल– हो मान्छेले गल्ती गर्छ र धेरै सिक्छ । अब यी इतिहासबाट शिक्षा लिनू । रोएर के हुन्छ र ?
महिला– सकेसम्म गर्नेछौँ ।
पीपल– अनि अलि पछि अथवा आजभन्दा करिब एक सय वर्ष अगाडि भारतीय वैज्ञानिक जगदिशचन्द्र बोसले बोटबिरुवामा पनि प्राण हुन्छ भने । यिनीहरूलाई पनि दुख्छ भनेर सबैलाई बुझाए । यसपछि मान्छेको हामीप्रतिको धारणा अलि सकारात्मक भएको हो ।
महिला– मैले भनेको कुरा त अझै पूरा त भएन कि ?
पीपल– हजुर म भन्दैछु । हामीसँग नानीहरूका जस्ता आँखा छैनन् । तर प्रकाश नै हाम्रो आँखा हो ।
महिला– ए उसो भए त हजुरहरूका हजारौँ आँखा छन् ।
पीपल– हो त । त्यसै गरी नानीहरूका जस्ता हाम्रो नाक छैन । तर पात र बोक्राले नाकको काम गर्छ ।
महिला– सास लिने नाक पनि धेरै छन् ।
पीपल– हजुर हो । हामीसँग देखालो कान नभए पनि ध्वनि तरङ्ग महसुस गर्छौँ । मधुर ध्वनिले हामीलाई आनन्द दिन्छ । हावाको माध्यमबाट हामी स्पर्शको काम गर्छौँ ।
महिला– बोडी, तरुल, फर्सी, लौका, काँक्रो आदिले आफ्नो झिक्रा अर्थात् थाक्रालाई कसरी यहाँ छ भनेर अनुमान लगाउँछन् ? मलाई यो अति अनौठो लाग्छ ।
पीपल– हावाको वहावका आधारमा हामी कतातिर खाली ठाउँ छ, कतातिर कस्तो आकारप्रकारको वस्तु छ भन्ने थाहा पाउँछौँ । हाम्रो नजिक मान्छे आउँदा कस्तो भावमा आएको छ भनी थाहा पाउँछौँ । हामीलाई माया गर्ने मान्छे आउँदा हामीलाई निकै खुसी लाग्छ ।
महिला– ए त्यै भएर घोकन्ति विद्या धावन्ति खेती भनेको हो ?
पीपल– ओहो कति राम्रो कुरा गर्नुभयो नानी । किसान दिनदिनै आफ्नो खेतबारीमा जान्छ भने अवश्यै ती बिरुवा खुसी भएर खेती राम्रो हुन्छ ।
महिला– बूढापुरानाहरूले निकै अध्ययन गरेर अनुभव गरेर बनाएका उखान रहेछन् । अहा ! कति सम्वेदनशील छन् ! अँ..
पीपल– अझै केही भन्नु छ र ?
महिला– हजुर अझै केही भन्दै हुनुहुन्छ कि वृक्षराज भनेर सोध्दै थिएँ ?
पीपल– हजुर । गाउँघरमा पोखरी पुरेका कारणले पँधेरा खोल्साका पानीका मूल सुकेको कुरा अझै किन नबुझेको हो नानीहरूले ?
महिला– कहाँ थिए पोखरी ? कसले पु¥यो मलाई त थाहै छैन नि हजुर ।
पीपल– अलि पहिले हरेक घरमा घर कटेराको बलेनीको पानी सँगाल्ने सानातिना पोखरी हुन्थे । बर्खाको समयमा रातभरि रातभरि ती पोखरीका भ्यागुता कराउँथे । आहा ! भ्यागुते सङ्गीतमय ती रात ।
महिला– अहिले त भ्यागुता देख्न हराइसक्यो हजुर ।
पीपल– हो । विषादिको प्रयोगले खेतमा पनि भ्यागुता छैनन् । भ्यागुता माछाको अभावमा सारस पनि हराए । उः त्यो बूढो सिमलका रुखमा सारसका कति धेरै गुँड हुन्थे । त्यसको फेँदमा सारसको बिष्टा सेतै सेतै हुन्थ्यो ।
महिला– सारस भन्ने त मैले देख्नै पाइनँ ।
पीपल– बर्खामा खोला खोल्साबाट गँगटा पाखापखेरातिर लागे भने आज ठूलो पानी पर्छ भन्थे पाका पुराना मान्थेले र त्यो कुरा मिल्थ्यो पनि ।
महिला– जीवजन्तुबाट मौसमको भविष्यवाणी ! कठै हामीले गुमाएको त्यो सत्य युग !
पिपल– हो त ।
महिला– एउटा कुरा मलाई सम्झना छ । म सानी छँदा खोलाका मुहानमा पोटास विष हालेर खोलाभरिका भ्यागुता, माछा, गँगटा सबै मरेको मैले पनि देखेकी हुँ । त्यसपछि हाम्रो खोलामा माछै आएनन् ।
पीपल– केही केही माछा मात्रै डुलन्ते हुन्छन् । धेरैजसो स्थानीय वातावरणमा स्थायी किसिमले बस्ने हुन्छन् । ती स्थायी मरेपछि सिद्धिइहाल्यो नि !
महिला– हरे शिव ! अब हामी त्यो पुरानो जैविक विविधता भएको अवस्थामा पुग्न सकिन्न होला ?
पीपल– सबै सचेत भएर लागे लामो समयमा पुग्न सकिन्छ ।
महिला– यस्तो कुरा हामीलाई कसैले त भनेको छैन । कसरी थाहा पाउने र ?
पीपल– पहाडमा मोटरबाटो बनाउँदा माटोढुङ्गा जथाभावी मिल्क्याउँदा सबै पाखापखेरा भिर भए । भुइँघास सखाप भए । पाखाका प्राकृतिक गोरेटा मासिनाले वन्यजन्तु हिँडडुल गर्न ठूलो समस्या भएको छ । उनीहरूको चरिचरन पनि नासिएको छ ।
महिला– ए त्यसैले पो वन्यजन्तु बस्तीतिर हेलिएका रहेछन् ।
पीपल– एकदम सही कुरा गर्नुभयो । त्यति मात्र हैन ती पाखाका गोरेटा मेटिँदा त वास्तवमा पृथ्वीको बाहिरी सतह नै खुम्चिएको छ ।
महिला– माटोढुङ्गा जथाभावी फालेर पाखापखेरा भिर त बनाएका छन् । तर ती गोरेटा मासेर कसरी पृथ्वीको सतह कसरी खुम्चियो र वृक्षराज ? मैले यो कुरा पटक्कै बुझिनँ ।
पीपल– गोरेटा मासिँदा पखेराको क्षेत्रफल त घट्यो घट्यो । बर्खामा परेको पानी त्यो भिरालो सतहमा अलमलिने कुरै भएन । टिनको छानामा जसरी स्वात्तै तल पुग्छ । यसो हुँदा एकातिर जमिनको सतहले पानी सोस्ने कुरा ज्यादै कम हुन्छ भने अर्कोतिर एक्कासी ठूलो बाढी आउने जोखिम पनि बढिरहेको छ ।
महिला– हो त । भिरालो भएपछि त पानी चिप्लिए जसरी स्वात्तै तल जान्छ । अनि पानी पच्न नपाएपछि पानीका मूल कसरी सर्सिऊन् ?
पीपल– हो त । अनि चुरे क्षेत्रको हरियाली हिउँदमा सुख्खा पतखर र खरको ढेरमा परिणत हुन्छ । यसलाई जतनसित निकालेर कागज उद्योग वा प्राङ्गारिक मल उद्योगमा लगाउने हो भने कागज आपूर्तिबाट धन वा मल आपूर्तिबाट धान प्राप्त हुनेछ ।
महिला– युवा विदेसिएपछि उद्योग कसले खोल्ला कसरी चल्ला र ?
पीपल– यहाँ भएकाले गरौँ । युवा विदेसिए भन्ने भजन सुन्दा मेरा कान पनि टट्टाएका छन् । अनि वनका ढलापडा काठले देशका फर्निचर उद्योग धान्न सक्छ । यसो नगरेर वर्षौँसम्म आगो लगाइरहने हो भने देशको जैविक विविधता इतिहासको पानामा मात्र सीमित हुनेछ ।
महिला– भन्न त भनुँला । हामी महिलालाई त पालिकामा उपप्रमुख मात्र दिने गरेका छन् । हामीले भनेको कसैले सुन्दैन ।
पीपल– महिला प्रकृतिको प्रतिनिधि हो । महिलाको कोमल नेतृत्वले मात्र वातावरण सही ठाउँमा आउन सक्छ । आज पोथ्रा वा झाडी वर्गका बोटबिरुवा मासिनाले बाँदर बनेल जस्ता वन्यजन्तु बस्ती पस्न बाध्य भएका हुन् ।
महिला– वन हरियो भए मात्र भएन वन्य जन्तुका लागि खानेकुरा भएको वन हुनुप¥यो । हजुरको भनाइ यही होइन र वृक्षराजज्यु ?
पीपल– हो । अझ तराइको डुबानको कुरा गर्नै बाँकी छ ।
महिला– गरौँ न हजुर गरौँ ।
पीपल– अब सबै पाकापुराना मिलेर हिँजोको प्राकृत तराईको बारेमा छलफल गरौँ । महिला– हजुर अवश्यै पनि ।
पीपल– हिँजो कहाँकहाँ कत्रा ताल, पोखरी, खोला, घोला थिए ? आज तिनी कहाँ गए ? हप्तौँ परेको झरीको पानी ती ताल पोखरीले कसरी थाम्थे ? पानी नपरेर खडेरी लाग्दा ती ताल पोखरीबाट पानी उल्झेर कसरी खेतमा पानी लगाइन्थ्यो ?
महिला– साह्रै महत्त्वपूर्ण आधारभूत प्रश्नहरू । हाम्रो छलफलका विषय बन्नेछन् ।
पीपल– अब कसरी हो तराईको जलभण्डार पुनर्जीवित गरौँ । यदि जलभण्डारलाई पुनर्जीवित ग¥यौँ भने सुख्खाका कारण तराई कहिल्यै आत्तिन पर्दैन । पहिलेका सार्वजनिक ताल पुनः सार्वजनिक गर्न सकिँदैन भने ती ठाउँमा माछा पोखरी बनाउँ । जसरी भए पनि पानी सन्तुलन यथावत रहोस् ! सबैको जय होस् !! वातावरण सुन्दर बनोस् !!!
महिला– धन्य छ वृक्षराजलाई । हृदयदेखि नै धन्यवाद । सबैका तर्फदेखि धन्यवाद ।