© २०२३
बुटवल, ०२ कार्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको नवजीवन युवा क्लबले स्थापनाकालदेखि नै देउसी भैलो खेल्ने र रकम सङ्कलन गर्ने कार्य गरेको छ । क्लबले तिहार पर्वलाई आर्थिक विकास गर्नका लागि एउटा माध्यमको रूपमा लिएको थियो ।
२०४७ सालमा स्थानीय युवाहरूको सहभागितामा स्थापना भएको क्लबले विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको छ । क्लबका पूर्व अध्यक्ष दीपक पाठकले पहिले पहिले क्लबले आफ्नो उपस्थितिका लागि चेतनामूलक नाटकहरू प्रस्तुत गरे पनि पछि संस्थालाई सामाजिक कामका लागि आर्थिक आवश्यकता पुरा गर्न आफूहरूले भैलोको परम्परालाई जोडेको बताए ।
उनी भन्छिन्–देउसी खेलेर ठ्याक्कै कति पैसा जम्मा भयो सुरुमा मलाई याद छैन तर हामीले ती पैसाहरूलाई बाटोघाटो मर्मत, सरसफाइ र आर्थिक रूपमा विपन्न परिवारलाई सहयोग गर्ने गर्दथ्यौँ ।
क्लबले २०६७ अगाडीका तीन वर्ष सम्म भैलो खेलेर जम्मा पारेको १० लाख रुपियाँले स्थानीय स्तरमा रहेको तिलोत्तमा पार्क र तिलोत्तमा खेलकुद मैदानमा समेत खर्च गरेको छ ।
क्लबका निवर्तमान अध्यक्ष गोविन्द भुसालले क्लब जहिले पनि सामाजिक कामलाई प्राथमिकतामा राख्ने गरेका कारणले सधैँ आर्थिक अभावको अवस्था थियो । त्यसैले पनि हामीले वर्ष दिनमा आउने तिहारलाई आर्थिक सङ्कलनको समय मानेर भैलो कार्यक्रम गर्ने र आर्थिक सङ्कलन गर्ने गरेका छौँ ।
यहीँबाट आएको पैसा हामीले क्लब र खेलमैदानको भवन निर्माण गरेका हौँ । त्यसै गरी नियमित आम्दानी होस् र समाजप्रतिको उत्तरदायित्व पुरा गर्न सहज होस् भनेर हामीले व्यावसायिक भवन बनाएर आम्दानीको बाटो बनाएका छौँ ।
त्यसै गरी क्लबले बृक्षरोपण गरेर बनाएको जङ्गलको तारबार र सरसफाइ पनि हामीले भैलोबाट सङ्कलन भएको रकमले गर्दै आइरहेका छौ । क्लब स्थापनाकालमा नै खेलकुदलाई प्राथमिकतामा राखेका कारणले हामीले खेलकुद मैदानलाई पनि भैलोबाट सङ्कलन भएको पैसाले नै सुरु गरेका हौँ ।
हामीले सामाजिक कामका लागि भैलो खेल्ने भएकाले पनि वर्ष दिनमा खेलिने भैलोमा रकम पनि राम्रै सङ्कलन हुन्छ ।
सल्यानको कपुरकोट गाउँपालिकामा ३ मा रहेको लामिडाँडाका स्थानीयहरूले भैलोबाट जम्मा भएको रकम गाउँसम्म मोटर बाटो ल्याउनका लागि लगानी गरेका थिए ।
केही वर्ष अगाडि गाउँलाई मोटरसँग जोड्नका लागि स्थानीय केही युवाहरूको सक्रियतामा देउसी भैलो कार्यक्रम आयोजना गरिएको थियो । उनीहरूले गाउँको विकासमा सहयोग होस् भन्नका लागि भैलो खेलेका थिए ।
भैलोबाट सङ्कलन भएको रकम मोटर ल्याउने बाटोमा लगानी गरेका हुन् । यस्तै सल्यानकै कपुरकोट गाउँपालिकामा रहेको सिस्नेरीका युवाहरूले देउसी भैलोबाट सङ्कलन गरेको ४० हजार र श्रमदान २० हजार रुपैयाँ लगानी गरेर गत वर्ष मात्रै धारा संरक्षण गरेका छन् ।
युवाहरूले अरूसँग सहयोग माग्न भन्दा तिहारको समयमा सबै मिलेर नौलो धारा संरक्षणको अभियान सहित देउसी खेलेका थिए । त्यहाँबाट सङ्कलित रकमले नपुगे पछि उनीहरूले श्रमदान पनि गरेका थिए ।
यता पाल्पाको माथागढी ८ का हुम बहादुर सूर्यवंशीको आफ्नो समयमा देउसी भैलोको सम्झना गर्दै भन्छन् हाम्रा पालाको देउसी त असाध्यै रमाइलो थियो । यो कहाँ खोजेर पाउनु अहिले ।
हामी त १५ /२० जनाको समूहमा देउसी गाउँदै हिँड्थ्यौ । ५७ वर्षीय सूर्यवंशीलाई आजभोलिको देउसी देख्दा दिक्क लाग्ने बताए । गीत नि नबुझिने, नाचको के कुरा गर्नु हेर्दा नि लाज लाग्ने जस्ता छन् । यसले गर्दा तिहारमा खेलिने देउसी भैलोको रौनक पहिले भन्दा कम भएको भनाइ छ ।
पहिले हामीले देउसी खेल्दा एकै किसिमका संस्कृति झल्किने खालका पोसाक लगाएर मादल, खैजरी, डम्फु, मजुरा बजाउने र चलन चल्तीका मौलिक भाका, तिहार पर्वका भाकाहरू गाएर नाच्ने, आषिस दिने र लिने गरेर देउसी भैलो खेल्ने चलन थियो ।
यसरी देउसी गाउन आउनेहरूलाई गाँउटोलबासीहरूले सम्मानका स्वागत गर्नु पनि त्यो समयको सुन्दर पक्ष थियो । देउसी खेल्नका लागि बाटो कुरेर बस्ने समुदाय थियो ।
हामीले सङ्कलन गरेका पैसाहरूले पानी खाने कुवा, पँधेरी, बाटो हिँड्दा थकाई मार्ने चौतारी बनाएर सदुपयोग गर्ने गरेका थियौँ । तर अहिले समय परिवर्तन भएको छ । पछिल्ला केही वर्ष देखि देउसी भैलो खेलेर जम्मा भएको पैसा धेरै जसो समूहहरू मदिरापानमा खर्च गर्ने गरेको देखिन्छ ।
यसले हाम्रो देउसी भैलो खेल्ने जुन परम्परा हो त्यसमाथि नकारात्मक प्रभाव पर्न सक्छ । गीत गाएर खेल्ने भैलो नै छैन भन्दा पनि फरक पर्दैन अहिले ।
आजभोलि त देउसी भैलोको नाममा पैसा सङ्कलन गर्ने लक्ष्मीपूजाबाट सुरु भएको देउसी भैलो बाटो नै छेकेर पैसा कमाउने बहानामा पुरै १५ दिनसम्म खेल्ने गरेको देखिन्छ यस्तो कारणले देउसिरे खेल्न नआए नि हुन्छ भन्ने समुदाय धेरै भयो ।
देउसी खेलेर दिने आषिस भन्ने नै छैन । यहाँ त कसले धेरै पैसा दिन्छ अझै धेरे पैसा मागेर धम्काएर उठाउने र मोज मस्ती गर्ने समूहहरूको सङ्ख्या बढ्नुले तिहार पर्वमा खेलिने देउसी भैलो महत्त्व हराउँदै गएको छ ।
विगतका समयमा यसरी देउसी भैलोको रकमलाई स्थानीय विकास निर्माण सहित सामाजिक कार्यमा लगानी गर्ने चलन थियो । तिहार पर्व सुरु भएको पहिलो दोस्रो दिन लक्ष्मीपूजाको दिन देखि देउसी भैलो खेल्ने प्रचलन छ ।
तर पहिले र अहिले खेलिने देउसी भैलोको तरिका फरक छ । तरिका सँगै सङ्कलित रकम प्रयोग गर्ने तरिका पनि फरक भइरहेको छ । पहिले पहिले देउसी भैलो खेलेर सङ्कलन भएको रकमलाई कसरी हुन्छ समाजको अति आवश्यक परेको स्थानमा लगानी गर्ने प्रचलन थियो ।
त्यसै गरी मादन खैजरी बजाएर आफ्नै भाकामा मौखिक गतिहरू गाएर घरभेटीलाई आषिस दिएर देउसी खेल्ने गरिन्थ्यो तर आजभोलि त सङ्कलन भएको पैसा व्यक्तिगत मनोरञ्जनमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ ।
तिहारमा देउसी भैलो खेल्यो विभिन्न स्थानमा पिकनिकमा रमाउने, नशाजन्य पियपदार्थ खाएर मनोरञ्जन गर्ने समूह धेरै देख्न पाइन्छ । त्यसै गरी विभिन्न बाजा बजाएर हिन्दी गीत लगाएर देउसी खेल्ने अनि अनिवार्य रूपमा पैसा तोक्ने चलन पनि धेरै छ ।
यसले हाम्रो पर्वलाई संरक्षण भन्दा पनि विकृति तर्फ धकेल्न थालेको छ । त्यसैले हाम्रा पर्वहरूका राम्रा र सकारात्मक सिकाइलाई सधैँ आत्मसाथ गरेर विकृति अन्त्य तर्फ सबै लाग्न आवश्यक देखिन्छ ।