© २०२३
चार्डपर्वको बेला घरघरमा रमाइलोको माहोल हुन्छ । परिवार, आफन्त र साथीभाइबीच भेटघाट, खानपान, गीतसंगीत र हाँसोठट्टाले वातावरण झन् रमाइलो बन्छ । तर, यही बेला धेरैजसो ठाउँमा जुवातास खेल्ने चलन पनि बढ्ने गर्छ। रमाइलोका नाममा सुरु भएको सानो जुवातास कतिपयका लागि अपराध र दुःखको कारण बन्न पुग्छ ।
नेपालको कानुनले जुवातासलाई स्पष्ट रूपमा अपराधको रूपमा परिभाषित गरेको छ । राज्यका दृष्टिमा जुवातास केवल मनोरञ्जन होइन, यो समाजमा विकृति, आर्थिक असमानता र वैमनस्यता फैलाउने कार्य हो ।
समाजमा विकृति र आर्थिक असमानता बढाउने, आपसी वैमनस्यता फैलाउने, र पारिवारिक सम्बन्धमा नकारात्मक असर पार्ने जस्ता कारणले राज्यले जुवातासलाई निषेध गरेको हो ।
नेपालमा जुवा ऐन, २०२० बाटै जुवातास नियन्त्रण गर्न कानुनी प्रयास सुरु भएको थियो । सो ऐनअनुसार पहिलो पटक जुवातास खेल्दा वा खेलाउँदा रु. २०० सम्म जरिवाना, र दोस्रो पटकदेखि नौ महिना सम्म कैद वा जरिवाना गर्ने व्यवस्था थियो । तर समयको आवश्यकता अनुसार उक्त सजाय कमजोर र अप्रभावकारी भएको ठहर गर्दै राज्यले यसलाई थप कडा बनाएको हो ।
२०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता, २०७४ ले जुवासम्बन्धी अपराधमा सजाय कडा बनाएको छ ।
संहिताको दफा १२५ अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
दोहो¥याएर जुवा खेले वा खेलाए भने एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ ।
त्यसपछि पुनः जुवामा संलग्न भए प्रत्येक पटक थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना थपिने कानुनी व्यवस्था गरिएको छ ।
त्यसका साथै, जुवातासमा प्रयोग भएका साधन, पैसा, सामान वा सम्पूर्ण चल–अचल सम्पत्ति जफत गर्ने कानुनी प्रावधान पनि रहेको छ । तर, जुवातास खेलिएको घर, कोठा, जग्गा वा सवारीसाधन भने जफत गरिँदैन ।
कानुन अनुसार यस्तो अपराधको उद्देश्य न केवल जुवातास खेल्ने व्यक्तिलाई सजाय दिने हो, तर यसबाट समाजमा फैलिने लालच, आर्थिक अपराध र सामाजिक अविश्वास नियन्त्रण गर्नु पनि हो ।
राज्यले यस्तो अपराध नियन्त्रणका लागि प्रहरी प्रशासनलाई सक्रिय गराएको छ । विभिन्न सहर र गाउँमा समय–समयमा जुवातास नियन्त्रण अभियान सञ्चालन हुँदै आएका छन् ।
तर, कानुन र कारबाही मात्र पर्याप्त छैन । नागरिक स्वयंले पनि जुवातासजस्ता अवैध गतिविधिबाट टाढा रहनु र अन्यलाई सचेत गराउन भूमिका खेल्न जरुरी छ । समाजमा जिम्मेवार नागरिकको सहभागिता र कानुनको पालना हुँदा मात्र जुवातासजस्ता विकृतिहरू घट्ने विश्वास लिइएको छ ।
जुवातास खेल्ने वा खेलाउने विषय सामान्य होइन, यो गम्भीर कानुनी अपराध हो। मुलुकी अपराध संहिताले यसलाई स्पष्ट रूपमा सजायसहितको अपराध मानेको छ र दोषी प्रमाणित भएमा कैद वा जरिवानाको कठोर सजाय पाउन सकिन्छ ।