Butwal Today

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई 

१ कार्तिक २०८२, शनिबार
अ+
अ-

देवदह, ०१ असोज ।

देवदह प्रिमियर लिग (डिपिएल) को उपाधि पाकडी प्यान्थर्सले जितेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा टटेरा डाइनामाइटलाई २३ रनले पराजित गर्दै पाकडीले डिपिएल दोस्रो सिजनको उपाधि रक्षा गरेको हो । पाकडी डिपिएल पहिलो सिजनको समेट विजेता टिम हो ।

फाइनल खेलमा टस जितेर टटेराले दिएको ब्याटिङको निम्तोलाई स्विकार्दै पाकडीले मात्र ३ विकेटको क्षतिमा १ सय ३४ रन बनायो । पाकडीका लागि सुरज चौधरीले ५४ बलमा ५७ रन प्रहार गरे ।

यस्तै रोसन गौतमले २५ तथा सागर काफ्लेले २० रनको योगदान गरे । टटेराको लागि डेभिड थापा र एजाज अहमदले ११ विकेट लिए ।
जवाफमा १ सय ३५ रनको लक्ष्य सहित मैदानमा उत्रिएको टटेरा २० ओभरको समाप्तिमा ९ विकेटको क्षतिमा १ सय ११ रनमा समेटिएपछि खेल पाकडीले जितेको हो ।

टटेराको लागि सुरज सारुले ४६, रमेश राईले २० विभेस खातीले १६ तथा जितेन्द्र आरकले १४ रनको योगदान दिए पनि त्यो जितको लागि पर्याप्त हुन सकेन । टटेरालाई जितबाट रोक्नको लागि पाकडीका निश्चल ज्ञवालीले ४ तथा रोशन गौतमले २ विकेटको योगदान गरे । खेलमा सुरज चौधरी प्लेयर अफ दि म्याच घोषित भए ।

फाइनल खेल सकिएसँगै विजेता टिम तथा खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले एक समारोहका बिच विजेता टिम तथा खेलाडीहरूलाई पुरस्कार, शिल्ड तथा मेडल प्रदान गरे ।

प्रतियोगितामा विजेता बनेसँगै प्रथम हुने पाकडीले नगद १ लाख रूपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता टटेराले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।

त्यसै गरी प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने पाकडीका कप्तान प्रकाश भण्डारी प्लेयर अफ दि सिरिज घोषित भए । त्यस्तै प्रतियोगितामा सबैभन्दा धेरै २०४ रन जोड्ने टटेरा डाइनामाइटका डेभिड थापा उत्कृष्ट ब्याट्सम्यान बने ।

यस्तै प्रतियोगितामा सबैभन्दा धेरै १६ विकेट लिने टटेराकै विभेस खाती उत्कृष्ट बलर बन्न सफल भए । समापन समारोहमा सामाजिक विकास मन्त्री पाण्डे, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री लगायतले बोल्दै खेलले युवाहरूमा अनुशासनको पाठ सिकाउने भन्दै खेलप्रति अग्रसर हुन आग्रह गरे ।

डिपिएल दोस्रो सिजनका सहयोगी सङ्घसंस्था, तथा सहभागी सम्पूर्ण क्लबहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, देवदह आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष बासुदेव रिमाल लगायतको सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठको अध्यक्षता, प्रतियोगिता संयोजक गोपाल प्रसाद भण्डारीको स्वागत र रवि वल्लभ रेग्मीको सञ्चालनमा समापन कार्यक्रम भएको हो ।