© २०२३
बुटवल ।
रोटरी क्लब अफ क्यापिटल बुटवलले सडक प्रयोगकर्ता, चालक तथा यात्रुहरुको सुरक्षा सचेतनाका लागि सन्देशमूलक स्टीकर वितरण गरेको छ।
लुम्बिनी बस टर्मिनल बुटवलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दिपेश बस्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे र पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्धक रामचन्द्र भुसालले संयुक्त रुपमा गरेका थिए।
“सुरक्षित यात्रा सुखद गन्तव्य”, “हतारले गन्तव्य होइन, दुर्घटना निम्त्याउँछ” र “सुरक्षित यात्राको अधिकार मेरो मानवअधिकार” भन्ने संदेशयुक्त स्टीकरहरू लुम्बिनी बस टर्मिनलबाट देशभर सञ्चालन हुने यात्रुवाहक तथा निजी सवारी साधनहरूमा टाँसिएका थिए।
कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक बस्यालले सुरक्षित यात्राका लागि सन्देशमूलक स्टीकर र पर्चा वितरणले सडक प्रयोगकर्तामाझ जागरूकता फैलाउने र दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनले यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न सबै संघ–संस्थाको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले सुरक्षित यात्राको अधिकार नागरिकको मौलिक मानवअधिकार भएको बताउँदै यस विषयमा सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।
त्यसैगरी पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्धक रामचन्द्र भुसालले संस्थाले यात्रुको सुरक्षा र सहज यात्राका लागि योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्दै सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न सदैव प्रतिबद्ध रहेको बताए।
रोटरी क्लब अफ क्यापिटल बुटवलका अध्यक्ष अमित अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्वतन्त्र यातायात मजदुर संगठन, रोटरी क्लबका सदस्य, पश्चिम नेपाल बस व्यवसायी प्रालिका पदाधिकारी र कर्मचारीहरू समेतको सहभागिता रहेको थियो।