© २०२३
तरकारीमा उच्च विषादीको प्रयोग त नयाँ कुरा भएन, धेरै सुनिएको हो तर खुर्सानीमा समेत विषादी प्रयोग हुने गरेको कुरा सार्वजनिक भएको छ । नेपाली भान्सामा अब खुर्सानीमा समेत होसियारी अपनाउनुपर्ने अवस्था आएको छ ।
पहाडमा उत्पादन हुने तरकारीमा विषादी राख्नु नपर्ने दाबी असत्य साबित भएको छ । अकबरे खुर्सानी पहाडमा उत्पादन हुन्छ । त्यही अकबरे खुर्सानीमा उच्च विषादी भेटिएको छ । त्यसो त दुई वर्षअघि नै पहाडमा उत्पादन हुने तरकारीमा उच्च विषादीको प्रयोग र सेवनका कारण गोरखाका किसानले क्यान्सर, मिर्गौला र मुटु रोगको भयावहता सामना गर्नुपरेको उदाहरण हाम्रै सामु छ ।
त्यसमाथि खुर्सानीमा समेत उच्च विषादीको प्रयोग हुने गरेको अवस्थाले अव कुनै पनि तरकारी विषादी बेगरको हुन्छ भन्नु केवल कल्पना मात्रै हो भन्दा अत्युक्ति हुनेछैन । नेपालीको चुलोमा अहिले विषादीको अत्यधिक प्रयोग बढ्दै गएको छ । काठमाण्डौंको कालीमाटी तरकारी थोक बजारमा रायोको साग, घिरौँला र अकबरे खुर्सानीमा उच्च विषादीको मात्रा भेटिएको छ ।
पछिल्लो समय विषादी नराखी कुनै पनि तरकारीको उत्पादन गर्न गाह्रो छ । तर, विषादीको प्रयोग कम गरेर पनि उत्पादन गर्न सकिन्छ । त्यसतर्फ अब ध्यान दिनुपर्ने आवश्यकता छ । उच्च विषादीको कारण गोरखाका किसान आफै प्राणघातक रोगको सिकार बन्नुपरेको छ । त्यो अवस्था अरू जिल्लाका किसानमाथि नआओस् ।
उच्च विषादीको कारण हृदयाघातको सम्भावना बढाउनुका साथै क्यान्सरजस्तो प्राणघातक रोग लागी ज्यान नै जान सक्ने चिकित्सकहरूले पटक पटक चेतावनी दिँदै आएका छन् । तरकारीमा अत्यधिक विषादीको प्रयोगले आर्थिक रूपमा मुलुकले समेत ठुलो भार व्यहोर्नुपरेको छ ।
किसानले थोरै लगानीमा धेरै आम्दानी गर्ने नाममा तरकारीजन्य उत्पादनमा अत्यधिक मात्रामा रसायन र विषादी प्रयोग गर्ने गरेका कारण यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने गरेको तथ्य सार्वजनिक भए पनि अत्यधिक विषादीको प्रयोग रोक्ने पहल कहीँ–कतैबाट भएको देखिँदैन ।
भएका प्रयास पनि देखावटी हुँदै आएको छ । त्यसैले यो समस्या मुलुकको एउटा प्रमुख चुनौतीको रूपमा देखा परेको छ । नेपाली उत्पादन मात्र होइन, भारतबाट आयात हुने तरकारीमा समेत अत्यधिक विषादी प्रयोग हुने गरेको छ ।
त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारी तवरबाट जुन किसिमले प्रयास हुनुपर्ने हो, त्यो नभएको भन्दै उपभोक्तावादीहरूले चासो र चिन्ता व्यक्त गरेका छन् । अकबरे खुर्सानीमा समेत विषादीको प्रयोग भएको सुन्दा आश्चर्य मान्नुपर्ने अवस्था छ ।
किनभने खुर्सानी र घिरौँलामा विषादी राख्नुपर्दैन भन्ने अहिलेसम्मको विश्वास थियो तर यो विश्वासमाथि तुसारापात भएको छ । उपभोक्ताले अव कुनै पनि प्रकारको तरकारी विषादीरहित छ भन्ने कल्पना पनि नगरे हुने स्थिति आएको छ ।
अबको दिनमा तरकारी उत्पादन गर्दा विषादीको मात्रा किटान गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ । विषादी प्रयोग सम्बन्धी नीतितर्फ ठोस कदम चाल्न नसक्दा भान्सामा हरेक छाकमा विष भित्रिने गरेको छ भने त्यही विष नेपालीका लागि घातक बन्ने गरेको छ ।
मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी यसरी तरकारीमा उच्च मात्रामा विषादीको प्रयोगले गर्ने हानिका विषयमा सबैभन्दा पहिले किसानलाई जानकारी दिनु जरुरी छ । आफ्नै घरको सानो करेसाबारीमा तरकारी लगाउने किसानले पनि विषादीको विकल्प नभएको बताउँछन् ।
अहिले तरकारी उत्पादन गर्दा विषादी र भिटामिन नराख्दा फल नै लाग्न नपाउने अवस्था छ । जसका कारण किसान बाध्य भएर विषादी प्रयोग गर्न विवश छन् । वास्तवमा जानीजानी विषादी खानुपर्ने यो बाध्यता नै हो । निश्चित रूपमा विषादी पूरै नियन्त्रण त गर्न सकिँदैन तर त्यसको मात्रामा कमी गर्नेतर्फ प्रयास गर्न सकिन्छ । अव यही बाटो अनुसरण गर्नु समयको माग हो ।