Butwal Today

पराल जलाउन पालिकाबाट रोक 

३१ आश्विन २०८२, शुक्रबार
अ+
अ-

लमही, ३१ असोज । 

दाङको राप्ती गाउँपालिकाले पराल जलाउन रोक लगाउँदै किसानहरूलाई सचेत गराएको छ ।

गाउँपालिकाले धान काटिसकेपछि पराल जलाउँदा वायुमण्डल प्रदूषित हुने, माटोको उर्वराशक्ति नष्ट हुने र जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले किसानलाई सचेत गराउँदै आएको हो ।

गाउँपालिकाका कर्मचारी र नेपाल प्रहरीको टोली खेत–खेतमै पुगेर किसानलाई पराल नजलाउन आग्रह गरेको छ । टोलीले पराल जलाउँदा हुने हानी, त्यसका असर र वैकल्पिक उपायहरूबारे जानकारीसमेत दिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार पहिलो चरणमा कृषकहरूलाई सम्झाइ–बुझाइ गरेर परालमा आगो नलगाउन अनुरोध गरिनेछ भने त्यसपछि पनि अटेरी गर्नेहरूमाथि सम्बन्धित कानुनअनुसार कारबाही गरिनेछ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पराल जलाउने कार्य रोक्नु वातावरणीय सन्तुलन र जनस्वास्थ्यका लागि अत्यावश्यक रहेको बताए ।

उनले भने, “जनस्वास्थ्य र वातावरणको रक्षा सबैको सामूहिक जिम्मेवारी हो, त्यसैले पराल नजलाऔँ, वातावरण जोगाऔँ।”गाउँपालिकाले किसानहरूलाई पराल व्यवस्थापनका लागि आवश्यक परामर्श र सहयोगका लागि कृषि शाखा तथा सम्बन्धित वडासँग सम्पर्क गर्न पनि आग्रह गरेको छ ।