© २०२३
काठमाडौँ, ३१ असोज ।
काठमाडौँ महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन शाह र वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकारबीच तीखो भनाभन भएको छ ।
नेपाल स्काउटको जग्गामा महानगर अस्पताल निर्माण गर्न भाडा सम्झौता गर्ने प्रस्ताव पेस हुँदा दुबैबिच मतभेद चर्किएको हो । प्रस्ताव अनुसार, स्काउटको कार्यकारिणी समितिले महानगरलाई २६ नम्बर वडास्थित जग्गा भाडामा दिन सैद्धान्तिक सहमति दिइसकेको छ ।
तर वडाध्यक्ष तण्डुकारले “पहिला आफ्नै भवन निर्माणमा ध्यान दिनुपर्ने” भन्दै आपत्ति जनाए । “हामी अझै पनि भाडामा बसिरहेका छौँ । जनताको कर उठाएर जहिल्यै भाडा तिरेर बस्ने ? नगर प्रहरीलाई चाहिएको ब्यारेकसमेत बनाइएको छैन । पहिले आफ्नै घर बनाऔँ,” उनले भने ।
जवाफमा मेयर बालेनले महानगर भवन निर्माण तिहारपछि सुरु हुने जानकारी दिए । तर वडाध्यक्षले स्काउटको जग्गालाई लिएर अदालतमा मुद्दा विचाराधीन रहेको प्रसङ्ग उठाउँदै यस्तो अवस्थामा “किन सम्झौता गर्ने ?” भनेर प्रश्न उठाए ।
त्यसपछि बैठकमा दुबैबिच प्रतिप्रश्न, व्यङ्ग्य र तिक्त संवाद सुरु भयो । वडाध्यक्षले “साढे तीन वर्ष भइसक्यो, काम कहिले सुरु हुन्छ ?” भन्दै शङ्का व्यक्त गर्दा बालेनले “तिहार पछि होस् भन्न खोज्नु भएको कि नहोस् ?” भनेर प्रतिप्रश्न गरे ।
वडाध्यक्षले “छिटो बनोस् भनेको हो” भनी जवाफ दिए । बालेन भने तिहारलाई लिएर व्यङ्ग्य गर्दै बोले “तिहार छिटै सकाइदिनुपर्यो अब मैले ?” “१० दिनको तिहार आजै कसरी सकाइदिनु त ?”
वडाध्यक्षले “आजै होइन, सुरुवात त गर्न पर्यो नि” भनेपछि, बालेनले “ल, ल, तिहारलाई चाँडै सक्किन भन्छु म हस्” भन्दै व्यङ्ग्य गरे ।वातावरण अझ तातिँदै गएपछि मेयर बालेनले अर्को प्रस्ताव अगाडि बढाउने निर्देशन दिए र बैठक अघि बढाइयो ।