© २०२३
काठमाडौँ ।
आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोयाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको अल एमिरेट क्रिकेट मैदानमा सामोयाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने अवसर पाएको हो ।
नेपाल आजको खेलमा सामोयालाई पराजित गर्दै आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको उपाधि उचाल्न चाहन्छ । नेपालले सामोयालाई पराजित गरेपछि छनोटमा अपराजित रहँदै विश्वकपको यात्रा तय गर्नेछ । यस प्रतियोगिताबाट नेपालसहित ओमान र यूएईले विश्वकपको स्थान पक्का गरिसकेका छन् ।
कतार, जापान र सामोया छनोट चरणबाट बाहिरिसकेका छन् । सामोया यसअघि भएका चार खेलमा सबैमा पराजित भइसकेको छ । छनोटमा चार खेलबाट ८ अंकसहित नेपाल शीर्ष स्थानमा छ । पाँच खेलबाट ८ अंक भएको ओमान दोस्रो स्थानमा उक्लेको छ भने समान खेलबाट ६ अंकसहित यूएई तेस्रो स्थानमा छ ।
आजै सम्पन्न सुपर सिक्सको खेलमा ओमानले जापानलाई ९ विकेटले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो ।