© २०२३
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी संगठन हमासलाई गम्भीर चेतावनी दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पले यदि हमासले युद्धविराम उल्लंघन गर्दै लडाइँ जारी राखेमा उनीहरूलाई ध्वस्त पार्नुपर्ने चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, “यदि हमासले सम्झौताको अवज्ञा गर्दै गाजामा मानिसहरूलाई मार्ने काम जारी राख्यो भने, हामीसँग उनीहरूलाई समाप्त गर्नुबाहेक अरू कुनै विकल्प रहने छैन ।”
यसअघि ट्रम्पले गाजामा अमेरिकी सेना तैनाथ गर्ने सम्भावनालाई अस्वीकार गरिसकेका थिए । हमास र इजरायलबीच अमेरिकाकै मध्यस्थतामा युद्धविरामको सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार अक्टोबर १० देखि गाजामा स्थानीय समयअनुसार दिउँसोबाट युद्धविराम लागू गरिएको छ । युद्धविरामपछि गाजाका नागरिकहरू पुनः आफ्ना घर फर्किन थालेका छन् ।
यसबीच हमासले इजरायललाई हालसम्म २० जना जीवित बन्धक फिर्ता गरिसकेको छ भने ९ जना मृतकको शव हस्तान्तरण गरिसकेको छ । उसले अझै १९ वटा शव फिर्ता गर्न बाँकी रहेको जनाइएको छ ।