Butwal Today

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्डको माग

३१ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

बङ्गलादेशमा अभियोजनकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्डको माग गरेका छन् । गएको वर्ष विद्यार्थी नेतृत्वमा भएको विरोध प्रदर्शनलाई बलपूर्वक दमन गरेको आरोपमा उनलाई मानवताविरुद्धको अपराध अन्तर्गत अभियुक्त बनाइएको हो ।

७८ वर्षीया हसिनाविरुद्धको मुद्दा हाल उहाँको अनुपस्थितिमै चलिरहेको बीबीसीले जनाएको छ ।

अभियोजन पक्षका अनुसार, सार्वजनिक भएको एउटा अडिओ क्लिपमा शेख हसिनाले आन्दोलनकारीविरुद्ध घातक हतियार प्रयोग गर्न निर्देशन दिएको सुनिन्छ । यद्यपि, हसिनाले आफूमाथि लागेको सबै अभियोग खारेज गर्ने आग्रह गर्दै आरोपहरूको खण्डन गरेकी छन् ।

केही हप्ता लामो प्रदर्शनका क्रममा बङ्गलादेशमा झन्डै १,४०० जनाको मृत्यु भएको थियो । उक्त आन्दोलनपछि १५ वर्षदेखि सत्तामा रहँदै आएकी हसिना सत्ताच्युत भएकी थिइन् र अहिले भारतमा शरण लिएकी छिन् ।

बङ्गलादेशमा सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता प्राप्तिपछि गएको वर्ष भएको हिंसा हालसम्मकै सबैभन्दा ठूलो मानिएको छ ।

बङ्गलादेशका प्रमुख सरकारी वकिल ताजुल इस्लामले हसिनाविरुद्ध “१,४०० पटक मृत्युदण्ड दिनुपर्ने” टिप्पणी गरेका छन् । तर उनले भने, “मानवीय रूपमा त्यो सम्भव नभएकाले कम्तीमा एउटा मृत्युदण्डको सजाय दिनुपर्छ ।”