नेपालगञ्ज, ३० असोज ।
‘एक्टिङ स्टार’ को उपाधि नेपालगञ्जकी नवीना रानाभाटले जितेकी छन् । एपि वान टेलिभिजनमा प्रशारण भएको लोकप्रिय रियालिटी शो ‘एक्टिङ स्टार’ को बुधबार राति करिब ९ बजे सम्पन्न ग्रान्ड फिनालेमा नवीनाले उपाधि हात पार्दै राष्ट्रिय स्तरमै अभिनयको नयाँ इतिहास रचेकी हुन् । फिनाले एपिसोड भने आज बिहीबार एपी वान टेलिभिजनबाट प्रसारण हुने भएको छ । कलाकारितामा आफ्नो अद्भुत प्रतिभा र सशक्त अभिनयले सबैको मन जितेकी नविनाले उपाधिसँगै नवीनाले नगद १५ लाख रुपैयाँ, आकर्षक ट्रफी, वल्र्ड टुर र एउटा नेपाली फिल्ममा मुख्य अभिनय गर्ने अवसर प्राप्त गरेकी छिन् । वरिष्ठ अभिनेता नीर शाहले नवीनालाई उपाधि तथा ट्रफी हस्तान्तरण गर्दै उनको प्रतिभाको खुलेर प्रशंसा गरेका थिए ।
छोरी विजेता घोषित भएको जानकारी दिदैं उनका बुबा भीमबहादुर रानाभाटले उत्साह व्यक्त गर्दै भने, “यो जित केवल नवीनाको मात्र होइन, सम्पूर्ण पश्चिम नेपालकै गौरव हो।” नविनाका आफन्त र धेरै शुभचिन्तकहरु नविनालाई विजेता घोषणा गर्दाको फोटो सहित समाजिक सञ्जालमा बुधवार रातिदेखि नै बधाई पोष्ट गरिरहेका छन् ।
कार्यक्रमको आधिकारिक पेजका अनुसार भावना मगर फर्स्ट रनर–अप र इभा घिमिरे सेकेन्ड रनर–अप घोषित भएका छन् ।
सुरुवातदेखि नै आफ्नो स्वाभाविक अभिनय, भावनात्मक अभिव्यक्ति र गहिरो पात्र–प्रस्तुतिले निर्णायक र दर्शक दुवैको मन जित्दै आएकी नवीनाको जितले पश्चिम नेपालका युवायुवतीमा कलाकारिताप्रति नयाँ प्रेरणा र आत्मविश्वास जगाएको छ ।