© २०२३
जितपुर, ३० असोज ।
वाणगंगा नगरपालिका–९ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल कपिल आरोग्य मन्दिर कपिलधामको १४औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभा कपिलधामस्थित योग ध्यान केन्द्रको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष राजु अर्यालले आ.व. २०८१/०८२ का लागि कुल १७ लाख ९१ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेका थिए । त्यस्तै, लेखा संयोजक कमल बेल्बासेले विस्तृत लेखा प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका लागि सुझावसहितका सुधारात्मक योजना पनि बताएका थिए ।
संस्थाका अध्यक्ष शंकर प्रसाद आचार्यले कपिलधाममा हालसम्म सम्पन्न गतिविधिहरूको जानकारी दिँदै आगामी दिनमा धार्मिक पर्यटन प्रवर्द्धन, ध्यान–योग अभ्यास विस्तार र संस्थागत सबलीकरणका रणनीति प्रस्तुत गरेका थिए ।
साधारण सभाको विशेष आकर्षणका रूपमा यस वर्षको ‘कपिल शान्ति पुरस्कार’ धार्मिक गुरु श्री १००८ स्वामी विवेकानन्द सरस्वतीलाई प्रदान गरिएको थियो । स्वामी सरस्वती कपिलधामको स्थापना कालदेखि नै संस्थासँग नजिक रहेर सहयोग र मार्गदर्शन प्रदान गर्दै आएका व्यक्तित्व हुन् ।
सम्मान ग्रहण गर्दै प्रमुख अतिथि स्वामी विवेकानन्द सरस्वतीले भने, “कपिल ऋषि र महर्षिहरूले तपस्या गरेको यो पवित्र भूमि केवल आस्थाको केन्द्र होइन, यो विद्वान र साधकहरूको गन्तव्यस्थल हो। यस धामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने जिम्मा हामी सबैको हो।”भनी बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा पूर्व स्वास्थ्य मन्त्री एवं लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले कपिलधामलाई लुम्बिनी प्रदेशकै एक महत्वपूर्ण धार्मिक सम्पदाको रूपमा चिनाउँदै भने, “यो धामलाई प्रदेशकै नमुना धार्मिक स्थलका रूपमा विकास गर्न सरकार र जनप्रतिनिधिको निरन्तर सहयोग रहनेछ ”भनी बताए ।
कार्यक्रममा कपिल प्राकृतिक चिकित्सालयका अध्यक्ष आत्माराम आचार्य, साहित्यकार मोहन ज्ञवाली, र लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले संस्थाको निरन्तर सक्रियता, धार्मिक योगदान र भव्य साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रमको सहजीकरण संस्थाका सह–सचिव दुर्गा प्रसाद पौडेलले गरेका थिए ।
कार्यक्रममा स्थानीय धार्मिक अगुवा, समाजसेवी, बुद्धिजीवी, तथा पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।