© २०२३
नवलपरासी,पश्चिम् ।
२७ वर्षका युवा खुमाकान्त न्यौपानेले नवलपरासीलाई फुल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कृषि क्षेत्रमा प्रेरणादायी पहल गरेका छन् । करिब ७ वर्षदेखि नगरपालिकामा कृषि प्राविधिकको रूपमा कार्यरत उनी हाल करिब एक हेक्टर क्षेत्रमा फुल खेती गर्दै आएका छन् ।
न्यौपानेको भनाइ अनुसार, आगामी ३ देखि ४ वर्षभित्र नवलपरासीलाई फुल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ । उनका अनुसार जिल्लामा हुने चाडपर्व, विवाह र विभिन्न धार्मिक समारोहमा आवश्यक पर्ने फुल स्थानीय स्तरमै उत्पादन गर्ने योजना रहेको छ ।
“हामीले थोरै प्रयास गरे पनि यहाँको माटो र मौसम फुल खेतीका लागि उपयुक्त छ,” न्यौपानेले भने, “यदि युवाले उत्साहपूर्वक कृषिमा लागे भने केही वर्षमै भारतबाट फुल आयात गर्नुपर्ने अवस्था हटाउन सकिन्छ” – उनले भने ।
विभिन्न कार्यक्रमहरूमा खादा प्रयोग गर्ने गरेको देखिन्छ सजावटमा अधिकतम प्लास्टिकजन्य सामाग्री देखिन्छन् यसले पर्यावरणलाई समेत असर पारेको छ । मैले त कति नै कमाउला र कुनै दिन नगर वा जिल्ला नै फुलमा आत्मनिर्भर बन्यो भने प्लास्टिकजन्य चिज शून्य भयो भने यसको थोरै श्रेय त मलाई पनि जाला नि । त्यो दिन म सन्तुष्ट हुनेछु” उनले भने ।
उनको फुल खेतीमा पुग्दा पहेँल पुर फुलले जो कोहीलाई पनि आनन्दित तुल्याउँछ । अन्य युवाहरूका लागि समेत अहिले उनी प्रेरणा बनेका छन् । उनले पुष्प खेतीबाट आफुसँगै नगरलाई पनि चिनाउने प्रयास गरेका छन् ।
उनले फुल खेतीमार्फत जिल्लाका युवाहरूलाई रोजगारी सिर्जना हुने र कृषिप्रति आकर्षण बढ्ने विश्वास व्यक्त गरेका छन् । स्थानीय तहको सहयोग र आधुनिक प्रविधिको प्रयोगसँगै उनले फुल खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने तयारी गरेका छन् ।