© २०२३
सल्यान, ३० असोज ।
जाजरकोट भूकम्पबाट घरहरू क्षतिग्रस्त भएका सल्यानका पीडित घरपरिवारहरूले अस्थायी आवास निर्माणका लागि पहिलो तथा दोस्रो किस्ता गरेर १४ करोड बढी रकम पाउन सकेका छैनन् ।
जिल्लाको दार्मा गाउँपालिकामा भूकम्पपीडित चार हजार ७४ घरधुरी लाभग्राही पहिचान भई विपद् पोर्टलमा प्रविष्ट भइसकेका छन् । तीमध्ये हालसम्म करिब दुई हजार ३८२ जनालाई मात्र पहिलो किस्ताको रकम भुक्तानी भएको छ भने बाँकी एक हजार ६९२ जनालाई सो रकम वितरण गर्न बाँकी रहेको जनाइएको छ ।
दार्मा गाउँपालिकाले अस्थायी आवास र पुनर्निर्माणका काम अगाडि बढाउन आवश्यक रकम तत्काल उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभाग, काठमाडौँलाई पत्राचार समेत गरेको छ ।
गाउँपालिकामा पहिलो किस्ता पाउन बाँकी लाभग्राही तथा दोस्रो किस्ताको भुक्तानी पर्खिरहेका सबै चार हजार ७४ घरपरिवारका लागि करिब चौध करोड २३ लाख रुपैयाँ आवश्यक रहेको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए ।
हालसम्म पुनर्निर्माणको काम समेत सुरु गर्न नसकिएको भन्दै आवश्यक बजेट शीघ्र उपलब्ध गराइ पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउन विभागसँग आग्रह गरेको छ । चिसो मौसम सुरु भइसकेकाले अस्थायी आवास र पुन निर्माणका कार्य तीव्र गतिमा अघि बढाउन गाउँपालिकाको आग्रह छ ।
आवास निर्माणका लागि रकम नपाउँदा कतिपय पीडितले ऋण काढेर अस्थायी टहरा बनाएका छन् भने कतिपय क्षतिग्रस्त घर मर्मत गरेर बस्दै आएका छन् । वर्षा, गर्मी तथा चिसो समयमा पीडितहरूले विभिन्न किसिमको स्वास्थ्य समस्या भोग्दै आएका छन् ।
२०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका कारण सल्यानको दार्मा गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो भने कुमाख गाउँपालिका, बागचौर, शारदा र बनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी, कपुरकोट, त्रिवेणी, सिद्धकुमाख लगायतका गाउँपालिकामा पनि क्षति पुर्याएको थियो ।