ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

व्यावसायिक कृषिमा पाल्पाली युवा

३० आश्विन २०८२, बिहीबार
३० आश्विन २०८२, बिहीबार

तानसेन, ३० असोज ।

तानसेन नगरपालिका–७ काजीपौवाका गम्भीरजङ्ग रायमाझीलाई पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन । बरु गाउँघरमै आफ्नो बारीमा खेती गर्न पाउँदा उनी औधी रमाउँछन् ।

नेपाली विषयमा स्नातकोत्तर गरेका रायमाझी १६ वर्ष उमेरदेखि नै व्यावसायिक कृषिमा लागेका हुन् । अहिले उनको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्य उपजको रेखदेखबाट सुरु हुन्छ ।

बिहान सबेरै उठेर तरकारीमा पानी लगाउनेदेखि गोडमेल सकेर ६ बजे नै नजिकैको क्याम्पस र एक सामुदायिक स्कुलमा पढाउन पुग्छन् । बिहान ४ बजेसम्म अध्यापनमै व्यस्त रायमाझी छुट्टी भएपछि भने घर फर्किएर पुनः कृषि कर्ममै लाग्छन् ।

उनलाई सघाउन माइलो भाइ सुरेन्द्र र कान्छो भाइ सुरज पनि बारीमा पुग्छन् । गोलभेँडा, काउली, बन्डा, करेला र खुर्सानी खेतीको गोडमेलमै उनीहरूको दैनिकी बित्छ । तीन दाजुभाइ मिलेर काजीपौवास्थित आफ्नै १३ रोपनी जग्गामा लोभलाग्दो कृषि खेती गरिरहेका छन् ।

माइलो भाइ सुरेन्द्रले पनि डिग्री गरेको छ भने कान्छो भाइ सुरजले होटल व्यवस्थापनमा स्नातक अध्ययन गरेको छ । पढाई सकेर दाजुभाइले गाउँमै व्यावसायिक कृषिमा रमाएको देखेर छिमेकी छक्क परेका छन् ।

उनीहरूले रायमाझी एकीकृत कृषि तथा पशु फर्ममार्फत व्यावसायिक तरकारी खेती गर्दै आएको छ । ठुलो बुबा कमल र आमा गीतादेवीको प्रेरणाबाट १६ वर्षको उमेरदेखि नै व्यावसायिक कृषिमा लागेको गम्भीरजङ्ग बताउँछन् ।

उनी भन्छन्, “मेरो हजुरबुबा कृषि गर्नुहुन्थ्यो, उहाँको सिको गरेर मेरा ठुलो बुबाले पनि कृषि नै गर्नुभयो, आमा सुन्तला जात तथा फलफूल विकास केन्द्र बागवानीमा काम गर्नुहुन्छ, जसको काम देखेर मलाई पनि कृषि गर्नुपर्छ भन्ने सोच पलाएको हो ।”

कक्षा ९ पढ्दादेखि नै बारीमा काउली, बन्डा, सिमी फलाएर ढाक्रामा राखेर घर–घरमा बेच्न लैजाने गरेको गम्भीरजङ्ग सम्झन्छन् । उनले तरकारी बेचेरै पढाइ खर्च चलाउने मात्र होइन, घर समेत खडा गरेको छ। सरकारी जागिर खानेको भन्दा उनीहरूको कमाइ कम छैन ।

तरकारी बिक्रीबाटै उनीहरूले वार्षिक रु पाँचदेखि छ लाखसम्म आम्दानी गर्दै आएको छ । तानसेन नगरपालिका–१२ अवलका ३४ वर्षीय युवा नारायण राना पनि कृषि पेसामै रमाएको छ । भेटनरी अध्ययन गरेका उनी २०६८ सालदेखि नै मौसमी तरकारी उत्पादन गर्नुको साथै बाख्रा, कुखुरा, बङ्गुर पालन गर्दै आएको छ।

गएको वर्ष उनले कृषि र पशुपालनबाट तीन लाख आम्दानी गरेको थियो । उनले भने, “पहिलो पटक २०६९ मा पशु अस्पताल तथा विज्ञ केन्द्र पाल्पाबाट अनुदान पाएको थिएँ । त्यही अनुदानबाट मलाई व्यावसायिक कृषि, पशुपालनमा लाग्न उत्प्रेरित गरेको हो।”

विदेश जान मन नलागेर कृषिमा लागेको उनले सुनाए । “भविष्य यसमै देखेर व्यावसायिक रूपमा कृषि, पशुपालनमा लागेको हुँ”, उनले भने ।
यादवप्रसाद घिमिरेले पनि गाउँमै कृषि कर्मबाट मनग्य आम्दानी गर्दै आएको छ ।

कक्षा १२ को अध्ययनपछि कोरिया जाने तयारीमा रहेका घिमिरे विदेशको सपना त्यागेर कृषि कर्ममा लागेको हो । उनले अहिले विवेक कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक कृषि गरिरहेको छ ।

उनले १७ रोपनी जग्गामा तरकारी, मौसमी फलफूल उत्पादन गर्दै आएको छ । घिमिरेले मौसमी फलफूल केराका छ हजार, दराईका एक हजार बोट र अन्य तरकारी लगाएको छ । उनले भैँसी पालन समेत गर्दै आएको छ ।

कृषिबाट घिमिरेले वार्षिक छ लाखसम्म आम्दानी गर्दै आएको बताए । वर्षभरि घरपरिवारसँगै बसेर काम गर्दा लाखौँ आम्दानी गर्न सकिने भएकाले विदेश गएर परिश्रम गर्नुभन्दा स्वदेशमै स्वरोजगार बन्नु उपयुक्त हुने घिमिरेले सुझाए । कृषिबाटै राम्रो भविष्य रहेको भन्दै उनले गाउँमा भएका बाँझो जमिन समेत भाडामा लिएर व्यवसायलाई थप विस्तार गर्ने योजना बनाएको बताए ।

रैनादेवी छहराका युवा कृषक सरोज कार्कीका दौँतरीहरू पैसा कमाउन कोही लाहुरे भए, कोही बिदेसिए। केही जागिरे भए त कोही गाउँ नै छाडे । तर उनलाई पैसा कमाउन कतै जानु परेन । आफ्नै बारीमा तरकारी, फलफूलका बिरुवा र सुन्तलासहित अन्तर बाली प्रणालीमा रमाइरहेको छ ।

बाह्रै महिना भ्याइन भ्याइ छ उनलाई । हिउँदभर सुन्तला र वर्षामा फलफूलका बिरुवा बिक्री गर्न व्यस्त उनको बारीमा मौसमी तथा बेमौसमी तरकारी पनि फस्टाएको छ । “सुन्तला, तरकारी र बिरुवाबाट वर्षमा पाँच लाख बचत भएको छ”, उनले भने, ‘कृषिमै भविष्य खोजेर लागे अहिले मलाई यही सन्तुष्टि मिलेको छ ।”

दुई वर्षसम्म काम गरेको दुबईको जागिर छोडेर जैविक तरकारी खेतीमा होमिएका तिनाउका थर्कबहादुर गाहा नमुना किसानमा दरिएको छ । उनले गरेको तरकारी खेती हेर्न र सिक्नका लागि जिल्लाका विभिन्न ठाउँका कृषकहरू उनको बारीमा आउने गर्छन् ।

पाँच लाख लगानी गरेर तरकारी खेती थालेका उनले अहिले तरकारी खेतीमै परिवारका पाँच जनालाई पूर्णकालीन रोजगारी पनि दिएको छ । दश रोपनी जग्गामा आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आएका गाहाले वर्षमा पाँच लाखसम्म कमाउने गरेको बताउँछन् ।

कुनै बेला विदेशबाहेक अन्य रोजगारीको विकल्प नदेख्ने जिल्लाका थुप्रै युवाहरू अहिले कृषि पेसालाई राम्रो रोजगारीको माध्यम बनाइरहेका छन् । पुर्खादेखिको गुजारामुखी परम्परागत खेती गर्ने परिपाटीलाई सुधार गरेर युवाहरू व्यावसायिक हुन थालेपछि धेरैले गाउँघरमा नै रोजगारी पाएका छन् । कतिपय युवाहरूले ठुलो लगानी गरेर फलफूल खेतीको थालनी समेत गरेका छन् ।

उच्च शिक्षा अध्ययन गरेका युवाहरू कृषिमा संलग्न भएपछि पढेका मानिसले खेतीको काम गर्दा बेइज्जत हुन्छ भन्ने गलत मान्यता पनि बिस्तारै हराउँदै जान थालेको छ । पछिल्लो पटक युवा पुस्ता कृषितिर लागेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सहायक सुरज पाण्डेले बताए ।

व्यावसायिक कृषकलाई सरकारी अनुदान, आवश्यक प्राविधिक तालिम, बीउ, मल औषधि दिएपछि किसानहरू बढिरहेको उनको भनाइ छ। जिल्लामा ६७१ कृषि फर्म सञ्चालनमा रहेको पाण्डेले जानकारी दिए । केन्द्रले विशेष गरी युवाहरूलाई कृषिमा जोड्न आफ्ना अनुदानका कार्यक्रमहरू केन्द्रित गर्दै आएको उनले बताए ।

व्यावसायिक कृषि क्षेत्रमा युवाहरूको संलग्नता बढेसँगै कृषिजन्य उत्पादनको आयात समेत प्रतिस्थापन हुन थालेको छ । जिल्लामा केही वर्षयता पशुपालनमा समेत कृषकहरू आकर्षित भएको जिल्ला भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख दुर्गाप्रसाद खनालले बताए ।

उनले भने, “पशुपालनमा लाग्नेमा अधिकांश युवाहरू रहेका छन् ।” व्यावसायिक रूपमा लाग्ने कृषकहरूलाई अनुदान, प्राविधिक सहयोग दिँदै आएको प्रमुख खनालले बताए । यहाँका स्थानीय सरकारले समेत युवा लक्षित कार्यक्रममार्फत युवाहरूलाई कृषिमा जोड्दै आएका छन् ।

स्थानीय तहको प्राथमिकतामा कृषि

यहाँका रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्व खोला गाउँपालिका, तिनाउ गाउँपालिका, माथागढी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममै कृषिलाई प्राथमिकता दिएका छन् ।

कृषिबाटै आम नागरिकको आर्थिक समृद्धि हुने भएकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।

उनले भने, “हामीले विशेष गरी अकबरे खुर्सानी, बेसार र अन्य मौसमी, बेमौसमी तरकारीलाई बढी प्राथमिकता दिएका छौँ ।” युवा कृषकहरू समेत उत्साहित भएर व्यावसायिक कृषिमा लागेको अध्यक्ष कार्कीले बताए ।

स्थानीय सरकारबाट बिउ बिजन, अनुदानका कार्यक्रमले कृषकहरू व्यावसायिक रूपमा आकर्षित भएको उनको भनाइ छ । यहाँ बजारीकरणको समस्या समेत नभएको अध्यक्ष कार्कीले बताए । उनले भने, “कृषकले उत्पादन गरेका कृषि उपज स्थानीय सहकारीमार्फत बजारीकरणको व्यवस्था गरेका छौँ ।”

जिल्लाका अन्य स्थानीय तहमा समेत बजारीकरणको कुनै समस्या नभएको सम्बन्धित स्थानीय तहका कृषकहरू बताउँछन् । यहाँ कतिपय स्थानमा युवाहरूले सामूहिक कृषि गरेका छन् भने केहीले एकल रूपमै व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

व्यावसायिक कृषि र पशुपालन गर्ने व्यक्ति आफू मात्रै रोजगार भएका छैनन् धेरैलाई रोजगारी समेत दिएका छन् । सानो परिमाणमा वा क्षेत्रफलमा गर्दा मुनाफा कम नै भए पनि ठुलो लगानी हुँदा जोखिम र आम्दानी दुवै बढी हुन्छ ।

मेहनतका साथ काम गर्दा स्वदेशमा नै विदेश जाँदाभन्दा मनग्य लगानी गर्न सकिन्छ भन्ने धेरैले प्रमाणित गरेका छन् । व्यावसायिक कृषि र पशुपालनमा सफल भएका कृषक धेरैका लागि प्रेरणाको स्रोत समेत बनेका छन् ।

पछिल्लो समय दिन प्रतिदिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दै छन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा बनमारा पलाउन थालेका छन् । गाउँमा भएका बालबालिका पढ्न बजार आउन थालेका छन् । अहिले धेरैको रोजाइ विदेश र सहर÷बजार पर्न थालेका बेला पाल्पाका केही युवाहरू भने व्यावसायिक कृषिमा आकर्षित भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?