© २०२३
काठमाण्डौ –
आउँदो वर्ष हुने टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सपनाको शुरूवात भएको बताएका छन् । छनोटपछि फेसबुकमा लेख्दै उनले सपनाको अन्त्य भएको हैन, शुरूवात भएको प्रतिक्रिया दिएका हुन् । विश्वास र समर्थन गर्ने सबै नेपाली यो खुशीको पलको हकदार भएको उनको भनाइ छ ।
एशिया तथा पूर्वी एशिया प्यासिफिकबाट भइरहेको छनोट खेलमा नेपाल र ओमानले विश्वकप यात्रा सुनिश्चित गरेका हुन् । हिजो भएको खेलमा यूएईले सामोआलाई हराएसँगै २ खेलअघि नै नेपाल र ओमान छनोट भएका हुन् । बाँकी एक स्थानका लागि अब यूएई, कतार र जापानबीच प्रतिस्पर्धा हुनेछ । विश्वकपमा २० टोली खेल्नेछन् । नेपाल लगातार दोस्रोपटक आईसीसी पुरुष टी–२० विश्वकपमा छनोट भएको हो । समग्रमा नेपालले तेस्रोपटक विश्वकप खेल्न लागेको हो ।
यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले गएराति घरेलु टोली ओमानलाई ३८ रनले हराउँदै ८ अंक बनाएको छ । नेपालले अब अन्तिम खेलमा भोलि सामोआसँग खेल्नेछ । भोलिको खेल पनि जितेमा नेपालले यस छनोट प्रतियोगिताको ट्रफी पनि जित्नेछ । अंक तालिकाको शीर्ष स्थानमा रहने टिमले ट्रफी जित्नेछ । नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित छ ।