© २०२३
काठमान्डौ, २९ असोज ।
अमेरिकी पासपोर्ट २० वर्षयताकै पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको शीर्ष १० सूचीबाट बाहिर परेको छ । हेनले एण्ड पार्टनर्सले सार्वजनिक गरेको हेनले पासपोर्ट इन्डेक्स–२०२५ अनुसार, अमेरिकी पासपोर्ट १२औं स्थानमा झरेको हो ।
इन्डेक्सअनुसार, अमेरिकी पासपोर्टधारी नागरिकहरू विश्वका २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छन् । गत वर्षसम्म शीर्ष १० भित्र रहेको अमेरिकी पासपोर्टको प्रभाव घट्दै गएको देखिएको छ ।
यसपटक विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट सिंगापुरले कायम राखेको छ, जसका नागरिकहरू १९३ देशमा भिसा बिना प्रवेश गर्न सक्छन् । दोस्रो स्थानमा दक्षिण कोरिया र तेस्रो स्थानमा जापान रहेका छन् ।
त्यस्तै, बेलायतको पासपोर्ट गत वर्षको छैटौं स्थानबाट झरेर यसपटक आठौं स्थानमा पुगेको छ । सन् २०१५ मा बेलायती पासपोर्ट विश्वको पहिलो स्थानमा थियो । चीनले भने उल्लेखनीय प्रगति गर्दै २०१५ को ९४औं स्थानबाट उक्लिएर हाल ६४औं स्थानमा पुगेको छ ।
नेपालको पासपोर्ट भने गत वर्षझैं १०१औं स्थानमै यथावत् छ । नेपाली नागरिकहरू ३६ देशमा अन(अराइभल भिसा पाउँछन् । त्यस्तै, भारतीय पासपोर्ट ७७औं स्थानमा पुगेको छ, जसले ५९ देशमा भिसा बिना प्रवेशको सुविधा दिन्छ ।
सूचीको अन्त्यतर्फ सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तानका पासपोर्टहरू रहेका छन्, जसले सीमित देशहरूमा मात्र प्रवेश अनुमति पाउँछन् ।
हेनले पासपोर्ट इन्डेक्स हरेक वर्ष विश्वका देशहरूका नागरिकहरूले भिसा बिना प्रवेश गर्न पाउने मुलुकहरूको संख्याका आधारमा तयार पारिन्छ । यसले कुनै पनि देशको अन्तर्राष्ट्रिय पहुँच र कूटनीतिक प्रभावको मापन गर्ने सूचकका रूपमा मानिन्छ ।