© 2026
काठमान्डौ, २९ असोज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा सङ्घ नेपालले मोटरसाइकल स्कर्टिङ गरेर जावलाखेलसम्म पुर्याएको छ । ओली जावलाखेलस्थित पार्टी प्यालेस (रामबाग महल) मा बस्न लागेको केन्द्रीय समिति बैठकमा सहभागी हुन गएका हुन् ।
गुण्डुबाट सुरु गरिएको मोटरसाइकल स्कर्टिङ कार्यक्रमअन्तर्गत सयौं युवा मोटरसाइकलसहित ओलीको स्वागतमा सडकमा उत्रिएका थिए ।
तर ललितपुर प्रहरीले सो स्कर्टिङलाई जुलुसको स्वरूप नदिन र र्याली नगर्न आग्रह गरेको थियो । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार यसअघि नै जिल्ला प्रशासन कार्यालयमार्फत जुलुस र प्रदर्शन नगर्न अनुरोध गरिएको थियो ।
यसैबीच, जावलाखेलको भनिमण्डलस्थित पार्टी प्यालेसमा बुधबार मध्यान्ह बस्ने भनिएको एमाले केन्द्रीय समिति बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बैठक स्थल आसपासमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
बैठकमा पार्टीका हालका राजनीतिक गतिविधि, संगठन सुदृढीकरण तथा आगामी रणनीतिमाथि विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।