Butwal Today

विपिनको त्याग र वीरता राष्ट्रको स्मृतिमा सधैँ रहनेछ : प्रधानमन्त्री कार्की

२९ आश्विन २०८२, बुधबार
अ+
अ-

 काठमाडौं, २९ असोज ।

प्रधानमन्त्री सुशीला कार्कीले हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने आशामा बितेका दुई वर्ष र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबरले आफू स्तब्ध बनेको उल्लेख गरेकी छन् ।

“यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु,” प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले विपिन जोशी केवल एक विद्यार्थी मात्र नभई ज्ञानको खोजीमा विदेशिएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उल्लेख गरिन् ।“विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो; उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो ।

उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो,” प्रधानमन्त्रीले भनिन् । प्रधानमन्त्री कार्कीले विपिनको निधन अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकारको उदाहरण भएको बताउँदै नेपाल सधैं शान्तिको पक्षमा उभिएको राष्ट्र भएको स्मरण गराइन् ।

“सदा शान्तिप्रेमी नेपालको एक सुपुत्र अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ,” उनले भनिन् ।

“उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?